आजका पत्रपत्रिकामा कांग्रेसको अधिवेन तयारी जसपा विवाद लगायतका विषयले स्थान पाएका छन् ।
कांग्रेसमा होला त नयाँ ध्रुवीकरण ? शिर्षकमा नागरिक दैनिकले मुख्य खबर बनाएको छ । प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टी पराजयपछिको साढे तीन वर्षमा संगठन सुदृढीकरणभन्दा आन्तरिक किचलोमा अल्झिएका नेपाली कांग्रेसका नेताहरूको ध्यान पार्टीको १४औं महाधिवेशनमा केन्द्रित बन्न पुगेको छ। केन्द्रीय समितिको बैठकले भदौ १६ देखि १९ सम्म काठमाडौंमा महाधिवेशन गर्नेगरी कार्यतालिका संशोधन गरेसँगै गुट–उपगुटमा विभक्त कांग्रेसमा नेतृत्वका लागि ध्रुवीकरण सुरु भएको छ ।
त्यस्तै एमाले एकतामा बाधक ओली शिर्षकमा नागरिकमै अर्को खबर छ । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नै पार्टी एकतामा बाधक देखिएका छन्। एमालेलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने सर्वोच्च अदालतको आदेशविरुद्ध भ्याकेट दिएर प्रधानमन्त्री ओली एकतामा बाधक देखिएका हुन्। सर्वोच्च अदालतले फागुन २८ पछि बनाइएको एमाले महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिएर कर्णालीका चार सांसदलाई पुनर्बहालीको आदेश दिएको थियो। यसबाट एमाले एक हुने सम्भावना बढेको भन्दै ओली तथा माधव नेपाल समूहका नेताले आन्तरिक विवाद मिलाउन प्रयास गरिरहेका थिए। तर ओली पक्ष अदालतको आदेशविरुद्ध भ्याकेट हाल्न पुगेको छ।
जसपा आधिकारिकता दाबीः प्रमाण पेस गर्न ठाकुरलाई पत्र शिर्षकमा नागरिकमै खबर छ । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षलाई १५ दिनभित्र आधिकारिकता पुष्टि गर्ने आधार तथा प्रमाण पेस गर्न भन्दै पत्राचार गरेको छ। जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव पक्षले शुक्रबार आधिकारिकता माग गर्दै निवेदन दिएपछि आयोगले त्यसको प्रतिलिपि संलग्न गरी ठाकुर पक्षलाई १५ दिनको सूचना दिएको हो। योसँगै राजपाको आधिकारिकतासम्बन्धी विवादको निरूपण प्रक्रिया औपचारिक रूपमै सुरु भएको छ।
देउवालाई रोक्न निधिको दौडधुप सुरु भएको खबरलाई राजधानी दैनिकले छापेको छ । नेपाली कांग्रेसभित्र १४औं महाधिवेशनको सरगर्मी सुरु भएको छ । महाधिवेशनको मिति अनुमोदन भएपछि नेताहरूले भेटघाट र दौडधुपलाई तीव्रता दिएका छन् ।सभापति शेरबहादुर देउवाले फेरि पनि आफूलाई पार्टी नेतृत्वमा अघि सार्नेगरी छलफल चलाएका छन् भने उनकै समूहमा रहेका हालका उपसभापति विमलेन्द्र निधिले पनि पार्टी नेतृत्वका लागि दौडधुप सुरु गरिसकेका छन् । यो समाचार आजको राजधानी दैनिकमा छ ।




