काठमाडौं । नेपाल–चीन द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने विषयमा गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि चिनियाँ राजदूत चाड माओमिङबीच भेटवार्ता भएको छ। भेटमा दुवै पक्षले आपसी सहयोग, सुरक्षा र विकासका एजेन्डामा सहकार्य विस्तार गर्ने प्रतिबद्धता जनाएका छन्।
भेटका क्रममा राजदूत माओमिङले गृहमन्त्री गुरुङलाई पदभार ग्रहणको बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे। जवाफमा गृहमन्त्री गुरुङले नेपाल ‘एक चीन नीति’प्रति दृढ रहेको पुनः स्पष्ट पार्दै नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिने अडान दोहोर्याए। साथै, उनले नेपालको सार्वभौमिकता, स्वाधीनता र भौगोलिक अखण्डताको संरक्षणमा सरकार प्रतिबद्ध रहेको उल्लेख गरे।
दुवै पक्षबीच नेपालमा भिसा अवधि नवीकरण नगरी बसेका चिनियाँ नागरिकलाई स्वदेश फर्काउने प्रक्रियालाई व्यवस्थित बनाउन आवश्यक समन्वय र सहजीकरणका विषयमा समेत छलफल भएको थियो। गृहमन्त्री गुरुङले यसमा चिनियाँ पक्षको सहयोग आवश्यक रहेको बताए।
त्यसैगरी, चीनको सहयोगमा सञ्चालनमा रहेका विभिन्न परियोजना समयमै सम्पन्न गर्न, प्रस्तावित नेपाल–चीन रेलमार्गलाई अगाडि बढाउन तथा द्विपक्षीय व्यापार सहजीकरणमा सक्रियता बढाउन नेपाली पक्षले आग्रह गरेको छ।
सीमाक्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणका लागि सहकार्य सुदृढ गर्ने विषयमा पनि दुवै पक्ष सकारात्मक देखिएका छन्। चिनियाँ पक्षले नेपालका सुरक्षा निकायको क्षमता अभिवृद्धिमा सहयोग गर्न तत्परता जनाएको बताइएको छ।
यसबीच, सिन्धुपाल्चोकको तातोपानी नाकाबाट हुने आवतजावतमा समस्या आएको भन्ने समाचारप्रति चिन्ता व्यक्त गरिएको थियो। तर, राजदूत माओमिङले सीमाक्षेत्रमा कुनै अवरोध नरहेको स्पष्ट पार्दै यस्ता खबर भ्रामक रहेको बताएका छन्।
भेटवार्तामा नेपाल–चीनबीचको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ गर्दै आगामी दिनमा सहकार्यलाई नयाँ उचाइमा पुर्याउने साझा समझदारी भएको गृहमन्त्रालयले जनाएको छ।




