देश

सभामुख अर्यालद्वारा संसद भवन निर्माण समयमै सम्पन्न गर्न निर्देशन

काठमाडौँ ।  सभामुख डीपी अर्यालले निर्माणाधीन संसद भवनको कार्यप्रगतिप्रति चासो व्यक्त गर्दै तोकिएको समयमै सम्पन्न गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएका छन्।

सोमबार शहरी विकास मन्त्रालयका कर्मचारी तथा निर्माण कम्पनीका प्रतिनिधिहरूसँग भएको छलफलमा सभामुख अर्यालले निर्माण कार्यमा ढिलाइ नगरी निर्धारित समयसीमा भित्रै सम्पन्न गर्न आग्रह गरेका हुन्।

छलफलमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, प्रतिनिधि सभा उपसभामुख रूबी कुमारी तथा राष्ट्रिय सभा उपाध्यक्ष लिला कुमारी भण्डारीको समेत उपस्थिति रहेको थियो।

२०७६ साल असोज १८ गते तुन्डी शेख जेभीसँग ७ अर्ब ९४ करोड रुपैयाँमा संसद भवन निर्माण सम्झौता भएको थियो। प्रारम्भमा तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिए पनि हालसम्म छ पटक म्याद थप भइसकेको छ। पछिल्लो सम्झौताअनुसार आगामी जेठ ९ गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। हालसम्म भवनको करिब ९४ प्रतिशत निर्माण कार्य पूरा भइसकेको शहरी विकास मन्त्रालयले जनाएको छ।

त्यस्तै, भवनको इन्टेरियर निर्माणको ठेक्का केसी श्यामसुन्दर बाँनिया जेभीले २ अर्ब ३४ करोड रुपैयाँमा लिएको छ भने छाना निर्माणको ठेक्का चेनलिंक इन्जिनियरिङले ३ करोड ८० लाख रुपैयाँमा प्राप्त गरेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *