हङ्गेरीको ऐतिहासिक चुनावमा पिटर मग्यारको अप्रत्याशित विजयपछि युरोपभरका नेताहरूले उहाँलाई व्यापक समर्थन र बधाई दिएका छन् । यस परिणामलाई लामो समयदेखि सत्तामा रहेका प्रधानमन्त्री भिक्टर ओर्बनको नीतिप्रति युरोपेली असन्तुष्टिको स्पष्ट अभिव्यक्ति र युरोपेली एकताको पुनःस्थापनाको सङ्केतका रूपमा लिइएको छ ।
ओर्बनको १६ वर्षे शासनपछि आएको यो परिवर्तनलाई युरोपेली सङ्घ (इयु) भित्र राजनीतिक मोडका रूपमा हेरिएको छ । धेरै नेताले मग्यारको जितलाई लोकतान्त्रिक मूल्यमान्यताको विजय भन्दै स्वागत गरेका छन् भने केहीले यसलाई युरोपेली एकता सुदृढ गर्ने अवसरका रूपमा चित्रण गरेका छन् ।
स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले ‘आज युरोप र युरोपेली मूल्यमान्यताले जितेको छ’ भन्दै सामाजिक सञ्जाल एक्समा प्रतिक्रिया दिनुभएको छ । पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले यसलाई ‘भव्य विजय’ भन्दै उत्सवमय प्रतिक्रिया दिनुभएको छ । बेलायतका प्रधानमन्त्री किर स्टार्मरले यसलाई हङ्गेरी मात्र नभई युरोपेली लोकतन्त्रकै ऐतिहासिक क्षण बताउनुभएको छ ।
डेन्युब नदी किनारमा हजारौं समर्थकलाई सम्बोधन गर्दै मग्यारले यो विजयलाई सम्पूर्ण राष्ट्रको निर्णयको परिणामका रूपमा प्रस्तुत गर्नुभयो । उहाँले हङ्गेरी अब पुनः युरोपेली मार्गमा फर्किने र विभाजनको सट्टा एकतामा अघि बढ्ने सङ्केत गर्नुभयो ।
चुनावअघि नै इयुका प्रमुख नेताहरूले मग्यारसँग सम्पर्क बढाएका थिए । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन, नाटो महासचिव मार्क रुट, जर्मन चान्सलर फ्रेडरिक मर्ज र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले उहाँलाई बधाई दिँदै सहकार्यको प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
जर्मनीका चान्सलर मर्जले युरोपलाई ‘बलियो र एकताबद्ध’ बनाउन नयाँ अवसर आएको बताउनुभयो भने स्विडेनका प्रधानमन्त्री उल्फ क्रिस्टरसनले हङ्गेरीसँग नजिकको सहकार्य जारी रहने विश्वास व्यक्त गर्नुभयो । युरोपेली संसद्की अध्यक्ष रोबर्टा मेत्सोलासहित अन्य नेताहरूले पनि लोकतान्त्रिक प्रक्रियाको सम्मान गर्दै परिणामलाई स्वीकार गर्नुभएको छ ।
युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले पनि मग्यारलाई बधाई दिँदै क्षेत्रीय शान्ति र सुरक्षा सुदृढीकरणमा सहकार्यको अपेक्षा व्यक्त गर्नुभयो । युक्रेनले हङ्गेरीसँग सम्बन्ध सुधारले आर्थिक सहायता र इयुको निर्णय प्रक्रियामा सहजता ल्याउने आशा व्यक्त गरेको छ ।
तर, ओर्बनका केही सहयोगी नेताहरूले भने संयमित प्रतिक्रिया दिएका छन् । इटालीकी प्रधानमन्त्री जोर्जिया मेलोनीले मग्यारलाई बधाई दिँदै ओर्बनको लामो कार्यकालको योगदानलाई पनि सम्मान गर्नुभयो । चेक प्रधानमन्त्री आन्द्रेज बाबिस र स्लोभाक प्रधानमन्त्री रोबर्ट फिकोले नयाँ नेतृत्वसँग सहकार्य गर्ने प्रतिबद्धता जनाउँदै क्षेत्रीय स्थायित्वमा जोड दिनुभयो ।
इयुका केही अधिकारीहरूले खुलेर राजनीतिक टिप्पणी नगरे पनि उर्सुला भोन डेर लेयनले हङ्गेरी ‘फेरि युरोपको बाटोमा फर्किएको’ बताउँदै साझा भविष्य अझ बलियो हुने विश्वास व्यक्त गर्नुभयो ।
विश्लेषकहरूका अनुसार ओर्बनको नीतिगत अडान, विशेषगरी युक्रेनप्रति दृष्टिकोण र ब्रसेल्ससँगको टकरावले इयुभित्र लामो समयदेखि तनाव सिर्जना गर्दै आएको थियो । मग्यारको उदयले त्यो समीकरण बदल्ने अपेक्षा गरिएको छ ।




