देश

चैतलो भिटौलो: भाइबहिनीबीचको स्नेह र अटुट सम्बन्धको सेतु

कञ्चनपुर । सुदूरपश्चिममा यतिबेला ‘चैतलो भिटौलो’को निकै रौनक छ । चैतको महिनामा दिदीबहिनीलाई अनिवार्य रुपमा भेटने सुदूरपश्चिम क्षेत्रमा परम्परागत चलन रहेको छ । यसै चलनअनुसार विवाहित दिदीबहिनीका लागि मिठाई, फलफूल र लुगालगायतका कोसेली बोकेर जाने दाजुभाइको संख्या बाक्लिदो छ।

यसै भिडमा भेटिए कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा कार्यरत शिक्षा अधिकृत सुरेशप्रसाद भट्ट । उनी कार्यालयको काम सकेर बिदा भएपछि दिदीबहिनीलाई कोशेली बोकेर हिडने तरखरमा थिए । “दिदीबहिनी नजिकै छन् तर वर्ष दिनमा आउने यो चैत महिनामा नभेटी मनै मान्दैन,“ अधिकृत भट्टले आफ्नो भावना व्यक्त गर्दै भने, “हाम्रो सुदूरपश्चिमको परम्परा र रगतको नाता नै यस्तो छ कि चैत लागेपछि दिदीबहिनीलाई अनिवार्य रूपमा कोसेली पुर्‍याउनैपर्छ । यो उपहार मात्र होइन, हाम्रो संस्कारको एउटा बलियो खम्बा हो ।”

“भाइ आउने बेला भइसक्यो कि भनेर बिहानैदेखि बाटो हेरेर बसेकी थिएँ,” शुक्लाफाँटा नगरपालिका–२ का मञ्जु बोहराले भावुक हुँदै भनिन्, “हातमा सानो कोसेली लिएर भाइ घरको आँगनमा छिर्दा जति खुसी लाग्यो त्यो शब्दमा वर्णन गर्न सक्दिन ।”

उनका अनुसार कोसेली ठूलो–सानो जे भए पनि दाजुभाइको उपस्थितिले मनमा उत्साह र स्नेहको भाव प्रकट हुने गरेको छ । कोशेली बोकेर आएको भाइसँग सुखदुःखका कुरा साटासाट गरेर घरमा भएको मिठोमसिनो पकाएर खुवाएर पठाएको उनले बताइन्।

चैत महिना सकिनै लाग्दा सुदूरपश्चिमका पहाडी मूलका समुदायमा मात्र नभई यो परम्परा छिमेकी मुलुक भारतको कुमाउ र गढवाल क्षेत्रमा पनि उत्तिकै प्रचलित छ । त्यहाँ यसलाई ‘भिटोली’ वा ‘छापरी’ भन्ने गरिन्छ । कुमाउनी संस्कृतिमा ‘भेटौँला–छापरी’ एउटा अत्यन्तै आत्मीय परम्परा हो, जसले दाजुभाइ र विवाहित दिदीबहिनीबीचको पवित्र सम्बन्धलाई चिनाउँछ ।

‘भेटौँला’ शब्दको अर्थ भेटघाट वा उपहार हो भने ‘छापरी’ (डालिया) त्यो बाँसको टोकरी वा पात्र हो, जसमा भिटौलीका सामग्रीहरू राखेर चेलीबेटीको घरसम्म पुर्‍याइन्छ । संस्कृतिका जानकारहरुका अनुसार यो परम्परा भारतको कुमाउ गढवाल हुँदै सुदूरपश्चिममा छिरेको विश्वास गरिन्छ । चैतलो भिटौलोको सुरुवात हुनुमा तत्कालीन समयको कठिन भौगोलिक अवस्था र सामाजिक संरचनाको ठुलो भूमिका छ।

पहिले आजको जस्तो सञ्चार र यातायातका आधुनिक साधनहरू उपलब्ध थिएनन् । छोरीको विवाह माइती घरभन्दा निकै टाढा, आफ्नै जातभात र रीतिस्थिति मिल्ने परिवारमा गर्ने चलन थियो । सडक सुविधा नहुँदा हिँडेरै हप्तौँ लगाएर उकाली–ओराली गर्नुपर्ने बाध्यताका कारण सधैँ भेटघाट सम्भव हुँदैनथ्यो । यस्तो अवस्थामा वर्ष दिनमा भए पनि कोसेली बोकेर छोरीबेटीको घरसम्म पुग्ने र हालखबर बुझ्ने माध्यमका रूपमा यो चैतलो परम्पराको विकास भएको बताइन्छ।

सुदूरपश्चिमको संस्कृतिका जानकार तर्कराज भट्टका अनुसार पहिला खाद्यान्न जुटाउन निकै समस्या हुन्थ्यो । खेतमा थोरै अन्न फल्ने र आर्थिक अवस्था पनि कमजोर हुने भएकाले दिदीबहिनीलाई वर्षमा एकपटक भए पनि केही समयलाई पुग्ने गरी पौष्टिक खानेकुरा लैजाने उद्देश्यले यसले सामाजिक मान्यता पायो ।

उनले भने, “विशेष गरी चैत महिना अभावको समय मानिन्थ्यो, पुरानो अन्न सकिन लागेको र नयाँ बाली पाक्नै लागेको यो सुख्खा समयमा माइतीले ल्याएको कोसेली चेलीका लागि ठूलो सहारा बन्थ्यो, माइतीबाट कोही आउन सकेन भने चेलीका लागि त्यो ठूलो दुःखको विषय बन्ने गथ्र्यो, पहिलेका दिनमा मुख्य कोसेलीका रूपमा ‘सातु’ (बाणी) लैजाने चलन थियो ।”

उनका अनुसार मकै र गहुँ जस्ता अन्नलाई आगोमा भुटेर घट्ट वा जाँतोमा पिसेर मसिनो पिठो बनाइन्थ्यो र त्यसलाई घिउमा भुटेर गुड वा खुदो तथा नरिवल राखेर सातु तयार पारिन्थ्यो । यो सातु निकै पौष्टिक हुने भएकाले एक मुठी खाएर पानी पिए पनि दिनभरका लागि ऊर्जा मिल्थ्यो । बाटोमा हिँड्दा नबिग्रने र बोक्न पनि सजिलो हुने भएकाले सातु तत्कालीन समयको सर्वश्रेष्ठ कोसेली मानिन्थ्यो । यसै परिकारलाई पहिले हिउँदमा बसाई सारेर चौपायासहित तराई झर्ने व्यक्तिहरु पनि प्रयोगमा ल्याउने गर्दथे।

समयको अन्तरालसँगै मानिसको जीवनशैली फेरियो र कोसेलीको स्वरूपमा पनि परिवर्तन आयो । “समयको अन्तरालसँगै मानिसको जीवनशैली फेरिएको छ,“ जानकार भट्टले थपे, “त्यसको प्रभाव चैतलो भिटौलोमा दिइने कोसेलीको स्वरूपमा पनि प्रष्ट देखिन्छ, पहिला सातु दिने चलन थियो भने पछि घरमै ध्यू हालेर बनाइने परम्परागत पकवानहरू जस्तै सेलरोटी, पुरी, मालपुवा, खिर, हलुवा, बटुक र माणा लैजाने लहर चल्यो।हाल आएर बजारको बढ्दो प्रभावका कारण कोसेलीको स्वरूप पूर्णतः आधुनिक बनेको छ ।”

अहिले दाजुभाइहरूले फलफूल, मिठाई, महँगा लत्ताकपडा र दक्षिणाका रूपमा नगद रकम दिने गरेका छन् । सहर बजारमा त कतिपयले प्रत्यक्ष भेट्न नसक्दा मोबाइल बैंकिङमार्फत रकम पठाउने र विदेशमा रहेका दाजुभाइले अनलाइनमार्फत उपहार पठाएर यो परम्परालाई निरन्तरता दिइरहेका छन्।

दाजुभाइले ल्याउने कोशेली भने घरपरिवारले मात्रै खाने नभएर छिमेकीलाई पनि बाँड्ने चलन रहेको छ । कसको दाजुभाइले के ल्यायो भनेर चियोचर्चा गर्ने चलन यहाँ पुरानै रहेको बताइन्छ । दिदीबहिनी, फुपु भेटन आएकाहरुले एक रात बास बस्नु पर्ने र भलाकुसारी गर्ने चलन भने हाल हराउँदै गएको जीवन धामीले बताए ।

चैत महिनाको अर्को रोचक र ऐतिहासिक पक्ष भनेको ‘चैत’को गायन हो । दमाई समुदायका व्यक्तिहरू चैत महिनाको शुरुआतदेखि मसान्तसम्म घरघरमा गई हुड्को बजाएर ‘चैत’ गाउँछन् । हुड्कोसँगै घण्टी र चमर(चौंरी गाईको पुच्छर) पहिरिएका गायनकर्ताले ऐतिहासिक गाथा, वीर पुरुषका कथाहरू र वीरताका प्रसङ्गहरू समेटिएका गीतहरु आफ्नै परम्परागत भाखामा पस्कीने गर्दछन्।

चैत गाउनेलाई मानसम्मान र उपहार स्वरूप थालमा अबीर, टिका, अन्नादी र दक्षिणा दिने चलन रहेको छ । चैत गाउँदा युगल जोडी (महिला–पुरुष) ले सँगसँगै गाउँछन् । पुरुषले हुड्को बजाएर गाथा गाउने गर्दछन् । महिलले गीतमा साथ दिने गर्छन् ।

“गीतको लयसँगै बीच बीचमा लोककथाको प्रसङ्ग आउँछ” संस्कृतिका जानकार लक्ष्मीराज जोशीले भने, “वसन्त ऋतुको बखान, दाजुभाइले दिदीबहिनीलाई भेट्ने चलन र ऐतिहासिक घटनाक्रमका बारेमा उल्लेख गर्दछ, जसले यो पर्वलाई साङ्गीतिक र ऐतिहासिक उचाई प्रदान गरेको छ ।” यो चलन भने हाल हराउँदै गएको उनको भनाइ छ।

“बुढापाकाहरुबाट युवा तन्नेरीहरुले सिक्ने उत्सुकता देखाएनन्, आर्थिक अवस्था कमजोर भएकाले गीत गाउन र हुड्को बजाउन जान्नेहरु बसाइँ सारेर अन्यत्र लागेपछि यसले हुड्को बजाउने गाउने चलन विस्तारै ओझेलमा पर्न थालेको छ”, उनले भने । यो परम्परा केबल रगतको नातामा मात्र सीमित छैन । शिक्षक अम्मरबहादुर खातीले भने, “जसका आफ्नै दाजुभाइ छैनन्, उनीहरूलाई पनि काका, बडाबा वा नजिकका आफन्तले कोसेली बोकेर भेट्ने चलन छ, भेटघाटका बेला वर्षभरिका सुख–दुःखका कुरा हुने, भलाकुसारी हुने र पारिवारिक सम्बन्ध अझ प्रगाढ बन्ने गर्दछ ।”

यस पर्वका केही आफ्नै धार्मिक र सांस्कृतिक मान्यताहरू पनि छन् । चैत महिनाभरि भिटौलो दिन मिल्ने भए तापनि मङ्गलबार, शनिबार र चतुर्दशीको दिनलाई अशुभ मानिने भएकाले यी दिनहरूमा कोसेली दिइँदैन । सुत्केरो परेका वा आफन्तको मृत्यु भएका बेला पनि भेटने चलन छैन।

सुदूरपश्चिमका केही जिल्लामा माघ महिनामा पनि छोरीबहिनीहरूलाई भेट्ने चलन छ तर दार्चुला र बैतडीमा भने चैत महिना नै भिटौलोको मुख्य समयका रुपमा रहेको छ । भिटौलोको शाब्दिक अर्थ भेट्नुसँग जोडिएकाले यसले भाइबहिनीको नातामा अपनत्व, आत्मीयता बढाउने शिक्षक खातीले बताए ।

“बाल्यकालमा सँगै बिताएका तीता–मीठा पलहरूको सम्झना गर्दै विवाहित चेलीहरू दाजुभाइको प्रतीक्षामा बस्छन्” उनले भने, “माइती भेट्न आएपछि दिदीबहिनीहरूले पनि आफ्नो गच्छे अनुसारको मीठो मसिनो पकाएर खुवाउने र सम्मान गर्ने गर्दछन्, जसले माइत र ससुराली दुवै पक्षबीचको सम्बन्धलाई सुमधुर बनाउँछ ।”

स्थानीय बासिन्दा धर्मबहादुर साउदका अनुसार यो परम्परा केवल कोसेली आदानप्रदान गर्ने माध्यम मात्र होइन, यो त भावनात्मक सम्बन्ध, सामाजिक सहयोग र सांस्कृतिक निरन्तरता बढाउने माध्यमका रुपमा रहेको छ ।

आधुनिक जीवनशैली, तीब्र शहरीकरण र प्रविधिको बढ्दो प्रभावका बीच पनि चैतालो भिटौलोले आफ्नो अस्तित्व जोगाइराखेको छ । ग्रामीण भेगमा यो अझै पनि मौलिक रूपमै मनाइन्छ भने सहर बजारमा यसको स्वरूप केही परिमार्जित भएको छ । समय र परिस्थितिअनुसार यसका परिकारहरू फेरिएका छन, कोसेलीको माध्यम बदलिएको छ, तर यसको मूल सन्देश–माया, स्नेह र जिम्मेवारी–आज पनि उस्तै सशक्त रहेको साउद बताउँछन्।

चैत महिना प्रकृतिको हिसाबले पनि निकै मनमोहक समय हो । वसन्त ऋतुको आगमनसँगै वनपाखामा पालुवा पलाएर हरियाली छाएको हुन्छ । कोइलीको कुँ हुँ कुँ हुँ मधुर स्वरले वातावरणलाई झनै जीवन्त बनाउँछ । यही रमाइलो मौसममा माइतीको आगमनले दिदीबहिनीको मनमा उत्साह र उमङ्ग थपिन्छ । सुदूरपश्चिमको यो जीवन्त परम्पराले भाइबहिनीको सम्बन्धलाई मात्र होइन, समग्र समाजलाई नै प्रेम र आत्मीयताको एउटै सूत्रमा बाँधिरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *