काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदिप पौडेलले पार्टीको क्रियाशील खारेज गर्न लागेको नभई अध्यावधिक गर्न लागेको बताएका छन् ।
काँग्रेसले बैशाख १ गतेदेखि एक महिनासम्म देशभर क्रियाशील सदस्यता सम्बन्धि वडा कार्यालयमा गएर क्रियाशील सदस्यता पुन लिनुपर्ने व्यवस्था गरेपछि अहिले नेता कार्यकर्ता तरंगित बनेका छन् ।
यासैप्रसंगमा काँग्रेस महामन्त्री पौडेलले नेपाली कांग्रेसले यसअघिको क्रियाशील सदस्यता खारेज गर्न लागेको हो ? भनेर धेरैले मलाई प्रश्न गरिरहेको बताउदै क्रियाशील खारेज गर्ने होइन, अद्यावधिक गर्न लागेको स्पष्ट गरेका छन् ।
उनले अब अद्यावधिक हुने क्रियाशीलले पार्टीलाई गाउँगाउँमा जोड्ने बताउदै महामन्त्री पौडेलले कांग्रेसप्रति समर्पित क्रियाशील सदस्यहरुको नवीकरणले थप जिम्मेवार र मजबुत बनाउने उल्लेख गरेका छन् ।
उनले भनेका छन्- ‘विगतमा देखिएका त्रुटी हटाउन यसपटक हामीले प्राविधिक पक्षमा विशेष ध्यान दिएर क्रियाशील अद्यावधिक प्रक्रिया अघि बढाउँदैछौं । विद्यमान परिस्कृत प्रणालीबाट अद्यावधिक गर्दा हामीले क्रियाशीलमा यसअघि भोग्दै आएका समस्या र अन्योल हटाउन सकिन्छ ।’
उनले भोलिबाटै नेपाली कांग्रेसका सम्पूर्ण क्रियाशील साथीहरुलाई सदस्यता अद्यावधिक गर्न तथा शुभेच्छुक र कांग्रेसमा आस्था राख्नेहरुलाई क्रियाशील सदस्यता लिन अनुरोध समेत गरेका छन् ।




