देश

वीरगञ्जमा प्रहरी जवानको हत्या, ४ जना पक्राउ

 

रौतहट । पर्साको वीरगञ्ज महानगरपालिका–९ श्रीपुरस्थित भारतीय राजदूतावास पछाडि एक युवकको धारिलो हतियार प्रहार गरी हत्या भएको छ ।

मृत्यु हुनेमा पर्साको कालिका माई गाउँपालिका–१ मुडली निवासी २८ वर्षीय विकास चौरसिया रहेका छन् । उनी नेपाल प्रहरीका बहालवाला कर्मचारी (प्रहरी जवान) हुन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी हरिबहादुर बस्नेतका अनुसार, वीरगञ्ज–९ मुरलीस्थित फिरोजा मियाको घरमा एक व्यक्ति गम्भीर घाइते अवस्थामा रहेको सूचना पाए लगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो ।

घटनास्थलमा चौरसियाको शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार गरिएको र अत्यधिक रक्तश्राव भइरहेको अवस्थामा फेला पारिएको थियो । उनलाई तत्काल उपचारका लागि नारायणी अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

चौरसिया वीरगञ्जकै मुर्लीमा डेरा गरी बस्दै आएका थिए र उनी १० दिनको बिदा लिएर घर आएका थिए । प्रहरीले हत्यामा संलग्न भएको आशंकामा एक महिलासहित चार जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरूमा रौतहटका २६ वर्षीय सन्तोष साह, उनकी पत्नी २४ वर्षीया सोनी साह, बाराका १९ वर्षीय विशाल साह र १९ वर्षीय भारतीय नागरिक कन्हैया कुमार रहेका छन् ।

घटनाको कारण र प्रकृतिबारे प्रहरीले थप अनुसन्धान गरिरहेको डिएसपी बस्नेतले जानकारी दिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *