देश

सलहेश फूलबारी मेलाअघि लहानमा श्रद्धालुको चहलपहल, भारतीय भक्तजनको आगमन सुरु

सिरहा । नयाँ वर्षको अवसर पारेर प्रत्येक वर्ष वैशाख १ गते आयोजना हुने लहानस्थित ऐतिहासिक तथा धार्मिक स्थल सलहेश फूलबारी मेलामा भारतीय श्रद्धालुहरूको आगमन सुरु भएको छ । मेला सुरु हुनुभन्दा दुई दिनअगावै भक्तजनहरूको चहलपहल बढ्न थालेको हो ।

लहान नगरपालिका–१२ र २२ मा अवस्थित सलहेश फूलबारीमा नयाँ वर्षको दिन मात्र फुल्ने विश्वास गरिने माला आकारको सुनाखरी फूल अवलोकन गर्न तथा पूजाअर्चना गर्न नेपाल र भारतका विभिन्न स्थानबाट हजारौँ श्रद्धालु आउने गर्छन् ।

मेला व्यवस्थापन समितिका अध्यक्ष दशमीलाल चौधरीका अनुसार मन्दिरअगाडि रहेको हारमको रूखमा यस वर्ष पनि सुनाखरी फूल फुल्न सुरु गरेको छ । तर, फक्रिन बाँकी रहेको छ । करिब नौ बिघा क्षेत्रफलमा फैलिएको फूलबारी क्षेत्रमा अहिले नै भक्तजनहरू आउने क्रम जारी रहेको उहाँले जानकारी दिए।

श्रद्धालुहरू दिनरात फूलबारी परिसरका रूखमुनि पाल टाँगेर बस्न थालेका छन् । बढ्दो पर्यटकको सङ्ख्यासँगै यहाँ पूर्वाधारको अभाव खड्किएको छ । स्थानीय वीरेन्द्र चौधरीले श्रद्धालु भक्तजनका लागि व्यवस्थित धर्मशालाको अभाव रहेको गुनासो गरे ।

लोकगाथाअनुसार महिषोथा (सिरहा) मा जन्मिएका लोकनायक राजा सलहेशको प्रेमस्थलका रूपमा यस फूलबारीलाई लिइन्छ । राजा सलहेश र उनको प्रेमिका मालिनीको प्रेमको प्रतीकका रूपमा सुनाखरी फूललाई मानिन्छ ।

चौऔँ शताब्दीका लोकनायक राजा सलहेशको वीरता, साहस र प्रेमसँग सम्बन्धित गाथाको स्मरणमा हरेक वर्ष वैशाख १ गते यहाँ मेला आयोजना गरिन्छ । तराई क्षेत्रमा पासवान समुदायका इष्टदेव मानिने सलहेशको पूजा गर्दा सन्तान प्राप्ति तथा विभिन्न रोगबाट मुक्ति पाइने जनविश्वास रहेको छ ।

सरकारले यस क्षेत्रलाई नयाँ पर्यटकीय गन्तव्यको सूचीमा समावेश गरे पनि ठोस विकास हुन नसकेको सरोकारवालाहरू बताउँछन् । जिल्ला उद्योग वाणिज्य संघ सिरहा र लहानका अध्यक्ष प्रदीपकुमार गुप्ताले तीनै तहका सरकार तथा सरोकारवाला निकायले एकीकृत गुरुयोजना बनाएर काम गर्न सके यस क्षेत्रलाई अझ आकर्षक धार्मिक पर्यटकीय केन्द्र बनाउन सकिने बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *