काठमाडौं । पाटनको कृष्णमन्दिर क्षेत्रमा नेम्बाङ दाजुभाइमाथि चक्कु प्रहार गरेर भाग्दै गरेका आरोपी सन्जीव नेपालीलाई प्रहरी जवान शाहाना बोहराले साहसिक रूपमा पछ्याएर नियन्त्रणमा लिएकी छन्। उनको तत्परताले आरोपी घटनास्थलबाट उम्किन नपाउँदै पक्राउ परेका हुन्।
चैत २५ गते साँझ भएको उक्त घटनामा झापा घर भई ललितपुरको इमाडोल बस्दै आएका ३३ वर्षीय सुमित नेम्बाङ र उनका २५ वर्षीय भाइ सृजन नेम्बाङमाथि चक्कु प्रहार गरिएको थियो। गम्भीर घाइते दुवैलाई अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
घटनापछि मंगलबजार क्षेत्रमा पिकेट ड्युटीमा रहेकी शाहानाले स्थानीयबाट आरोपी भागिरहेको सूचना पाएलगत्तै पछ्याएकी थिइन्। हातमा लाठी बोकेर करिब २०० मिटरसम्म पीछा गरेपछि उनले आरोपीलाई रोक्न प्रयास गरिन्। आरोपीले उल्टै चक्कु देखाएर प्रतिकार गर्न खोज्दा पनि उनले हिम्मत हारिनन्।
पछ्याइरहेकी शाहानाबाट उम्किन सन्जीव हतारिँदै नजिकैको एक रेष्टुरेन्टभित्र पसेका थिए। त्यसपछि शाहानाले तत्काल ढोका बन्द गरेर उनलाई भित्रै थुनेर थप प्रहरी टोली बोलाएकी थिइन्। केही मिनेटमै पुगेको टोलीले हत्या गर्न प्रयोग गरिएको चक्कुसहित सन्जीवलाई नियन्त्रणमा लिएको थियो।
उनको साहसिक भूमिकाको प्रशंसा गर्दै जिल्ला प्रहरी परिसर ललितपुर र उपत्यका प्रहरी कार्यालय रानीपोखरीले नगदसहित सम्मान गरेको छ। प्रहरीका अनुसार हतियारसहित भागिरहेका आरोपीलाई एकल प्रयासमा नियन्त्रणको दायरामा ल्याउनु संगठनका लागि उदाहरणीय कार्य मानिएको छ।
यस घटनामा आरोपीसँगै रहेका नवलपरासी गैँडाकोटका २२ वर्षीय गगन सुनारलाई पनि पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।




