काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था स्थिर रहे सोमबार पित्तथैलीको शल्यक्रिया गरिने भएको छ। चिकित्सक टोलीले हालसम्मका सबै परीक्षण रिपोर्ट सामान्य देखिएकाले निर्धारित मितिमै अप्रेसनको तयारी अघि बढाएको जनाएको छ।
त्रिवि शिक्षण अस्पतालका निर्देशक प्राध्यापक डा। सुवास आचार्यका अनुसार शुक्रबारसम्म गरिएका स्वास्थ्य परीक्षणहरू सन्तोषजनक छन्। यसबीच स्वास्थ्यमा कुनै नयाँ जटिलता वा उतारचढाव नदेखिए सोमबार शल्यक्रिया प्रक्रिया अघि बढाइने उनले बताए।
उनका अनुसार चिकित्सकहरूको प्राथमिकता अहिले शल्यक्रियाअघि ओलीको स्वास्थ्य अवस्था निरन्तर निगरानीमा राख्नु रहेको छ। सामान्य अवस्थामा सुधार देखिएकाले अस्पतालले आवश्यक सबै पूर्वतयारी पूरा गरिसकेको जनाएको छ।
जेनजी आन्दोलन छानबिन प्रतिवेदनको सिफारिसपछि गत चैत १४ गते पक्राउ परेका ओली उपचारका लागि अस्पताल भर्ना भएका थिए। पछि चैत २६ गते सर्वोच्च अदालतको आदेशबाट थुनामुक्त भए पनि उनी हालसम्म त्रिवि शिक्षण अस्पतालमै चिकित्सकीय निगरानीमा उपचाररत छन्।
राजनीतिक रूपमा संवेदनशील परिस्थितिका बीच उनको स्वास्थ्य अवस्थालाई एमाले वृत्तले चासोका साथ हेरिरहेको छ भने अस्पताल स्रोतले भने उपचारलाई पूर्ण रूपमा चिकित्सकीय प्रक्रियाका आधारमा अघि बढाइएको स्पष्ट पारेको छ।




