देश

बैतडीमा २१ लाखभन्दा बढी भन्सार छलीका सामान बरामद

काठमाडौं । बैतडीमा रु २१ लाख बढीका अवैध सामान बरामद गरिएको छ । सशस्त्र प्रहरीले पञ्चेश्वर गाउँपालिका(४ हल्दुविनायकबाट बोलेरो पिकअप र ट्याक्टरसहित रु २१ लाख आठ हजार ८१० बराबरका अवैध सामान बरामद गरेको हो । आज बिहान ३ः०० बजेतिर भारतबाट भन्सार छली गरी ल्याइएका अवैध सामानसहित बोलेर पिकअप र ट्याक्टरलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल नम्बर ५१ गुल्म हेडक्वाटर बैतडीका सशस्त्र प्रहरी नायब उपरीक्षक जङ्गबहादुर कुँवरले जानकारी दिए । उनका अनुसार २३ क्विन्टल चिनी, पाँच क्विन्टल मिश्री र अन्य किरानाका सामान बरामद गरिएको हो ।

सुपप्र ०१ ००१ च २७८९ नम्बरको बोलेरो पिकअप र सुपप्र ०१ ००२ त ५०९० नम्बरको ट्याक्टरलाई समेत नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक कुँवरले जानकारी दिए । गोप्य सूचनाका आधारमा सशस्त्र प्रहरी निरीक्षक रमेशप्रसाद पाण्डेयको नतृेत्वमा खटिएको मोबाइल टोलीले ती सामान बरामद गरेको सशस्त्र प्रहरी नायब उपरीक्षक कुँवरले जानकारी दिए । “केही दिन पहिलेदेखि भन्सार छलीका सामान भित्रिँदैछन् भन्ने गोप्य सूचना पाएका थियौँ”, उनले भने , “सोहीअनुसार जिल्लाबाट खटिएको टोलीले जाँचबुझ गर्दा ती सामान फेला पारेको हो ।”

भन्सार छलीका सामान भित्र्याउने कार्यमा संलग्न व्यक्तिहरू भने प्रहरीको टोली देख्नेबित्तिकै भागेका सशस्त्र प्रहरीले जनाएको छ । बरामद गरिएका अवैध सामानसहित बोलेरो पिकअप र ट्याक्टरलाई आवश्यक कारवाहीका लागि महाकाली भन्सार कार्यालय झुलाघाटलाई बुझाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *