मुख्य समाचार

इरान र अमेरिकाबीचको पहिलो दिनको वार्ता सकियो, भोली पनि हुने

काठमाडौँ । इरान र अमेरिकाबीच जारी युद्धविराम वार्ताको पहिलो चरण करिब दुई घण्टा चलेको छ । सञ्चारमाध्यमका अनुसार उक्त चरणमा इरानले लेबनानमाथिको आक्रमण तत्काल रोक्न माग गरेको छ ।

बैठकमा सुरक्षा, राजनीति, सैन्य, अर्थतन्त्र र कानुनसँग सम्बन्धित विषयमा विस्तृत छलफल भएको जनाइएको छ ।

अमेरिकी पक्षको नेतृत्व उपराष्ट्रपति जेडी भेन्सले गरेका छन् भने इरानी पक्षबाट संसद सभामुख मोहम्मद बाघेर गालिबाफ सहभागी छन् । वार्ता भोलि पनि जारी रहने बताइएको छ ।

वार्ता इस्लामाबादस्थित सेरेना होटलमा भइरहेको छ, जसलाई सहरको अत्यन्त सुरक्षित क्षेत्रमध्ये एक मानिन्छ । होटल कडा सुरक्षा व्यवस्था, उपयुक्त स्थान र उच्चस्तरीय अतिथि व्यवस्थापनका लागि परिचित छ ।

प्रधानमन्त्री निवास र संसद भवन नजिकै रहेको यो होटलमा प्रवेशका सबै मार्गमा कडाइका साथ जाँच गरिएको छ र बहुस्तरीय सुरक्षा व्यवस्था गरिएको पाकिस्तानी मिडियाहरुले उल्लेख गरेका छन् ।

करिब ६ हेक्टर क्षेत्रफलमा फैलिएको होटलमा ४०० भन्दा बढी कोठा, ठूला सम्मेलन हल र कार्यालय सुविधा रहेका छन् । एकैपटक ठूलो प्रतिनिधिमण्डल सहज रूपमा बस्न सक्ने भएकाले यसलाई उपयुक्त स्थल मानिएको छ ।

अमेरिकासँग वार्ता गर्न इरानबाट ७१ जनाको टोली पाकिस्तान पुगेको बताइएको छ भने अमेरिकाका उपराष्टपति भेन्ससहित राष्ट्रपतिका विशेष प्रतिनिधि स्टिभ विटकफ, वरिष्ठ सल्लहकार जारेड कुशनर र सैन्य अधिकारी ब्रेड कुपर सहभागी भएका छन् ।

त्यस्तै वार्तामा पाकिस्तानका तर्फबाट प्रधानमन्त्री शहबाज शरिफ, सेना प्रमुख आसिम मुनिर, विदेशमन्त्री इसाक डार र राष्ट्रिय सुरक्षा सल्लाहकार आसिम मलिक पनि वार्तामा सहभागी भएको बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *