काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले आफ्नो पार्टीलाई “पूर्वका राईहरूको पार्टी” भनी फैलाइएको भनाइ अस्वीकार गर्दै पार्टी कुनै जात, क्षेत्र वा समुदायविशेषमा सीमित नभएको स्पष्ट पारेका छन् ।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा उपसभामुख पदका लागि रुबी कुमारी ठाकुरलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन् ।
राईले श्रम संस्कृति पार्टीले जात, धर्म र भूगोलका आधारमा विभाजित नेपाली समाजलाई एकताको सूत्रमा बाँध्ने लक्ष्य राखेको दाबी गरे। उनले पार्टीलाई कुनै एक समुदायसँग मात्र जोडेर हेरिनु गलत बुझाइ भएको बताए।
उपसभामुखका लागि मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने उम्मेदवार रोज्नुको कारण स्पष्ट गर्दै उनले मधेस देशकै सबैभन्दा बढी जनसंख्या भएको प्रदेश भएको र ऐतिहासिक रूपमा पछाडि पारिएको क्षेत्र भएको उल्लेख गरे।
उनले भने, “श्रम संस्कृति पार्टीलाई पूर्वका राईहरूको पार्टी हो भन्ने भ्रम फैलाइयो। म स्पष्ट गर्न चाहन्छु, हामी जात, धर्म र भूगोलका आधारमा विभाजन गरिएका सबै नेपालीलाई एउटै मालामा उनेर अघि बढ्न चाहन्छौँ।”
उनका अनुसार मधेसको प्रतिनिधित्वका रूपमा रुबी कुमारी ठाकुरलाई उम्मेदवार बनाउनु त्यहाँका जनताको आवाज र अनुभवलाई राष्ट्रिय स्तरमा उठाउने प्रयास हो। उनले मधेसमा सामाजिक रूपमा हुने विभेद र उत्पीडनका विषय पनि उठाए।
राईले लोकतन्त्रको मुख्य सौन्दर्य नै प्रतिस्पर्धा भएको भन्दै उपसभामुख निर्वाचन प्रक्रियामा सहभागी सबै पक्षलाई धन्यवाद समेत दिए।




