काठमाडौँ । सरकारले पश्चिम एसियाका विभिन्न देशका विमानस्थलमा कुनै पनि नेपाली नागरिक अलपत्र अवस्थामा नरहेको स्पष्ट पारेको छ।
शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्री ले उक्त जानकारी दिएका हुन्। उनले सो क्षेत्रमा देखिएको तनावका कारण स्वदेश फर्कन चाहने नेपालीका लागि सरकारले आवश्यक हवाई उडानको व्यवस्था मिलाइरहेको बताए।
परराष्ट्र मन्त्रालयका अनुसार अहिले पश्चिम एसियाबाट स्वदेश फर्कन चाहने कुनै पनि नेपाली नागरिक कुनै अप्ठ्यारो अवस्थामा नरहेको दाबी गरिएको छ। नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्समार्फत स्वदेश फर्काउने व्यवस्था भइरहेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले आवश्यक परेमा थप उडान व्यवस्थापन गरेर समस्या समाधान गर्न सरकार निरन्तर सक्रिय रहेको पनि स्पष्ट पारेको छ।




