पोखरा । कास्की प्रहरीले सिर्जना पौडेल केसी हत्या प्रकरणमा संलग्न दुई मुख्य अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गरेको छ। घटना पोखरा महानगरपालिका–८ स्थित सभागृहचोक नजिक भएको थियो।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक नवीन कार्की ले पत्रकार सम्मेलनमार्फत घटनाको विस्तृत विवरण र अभियुक्तहरूको पहिचान सार्वजनिक गरेका हुन्।
हत्या प्रकरणमा संलग्न मुख्य आरोपी शिशिर केसीलाई प्रहरीले बुटवलबाट पक्राउ गरी कास्की ल्याएको छ। एसपी कार्कीका अनुसार शिशिर केसी मृतकका सहोदर भान्जा हुन्।
गत चैत २७ गते साँझ करिब ७:०६ बजे सिर्जना पौडेल केसी आफ्नो मासु पसल बन्द गरेर पैदल घरतर्फ जाँदै गर्दा पोखरा–बागलुङ सडकखण्डको शिवालय चोक नजिक पछाडिबाट धारिलो हतियार (खुकुरी) प्रहार गरिएको थियो।
प्रहरीका अनुसार अभियुक्तले दिउँसोदेखि नै निगरानी गर्दै एकान्त र अँध्यारो स्थान रोजेर योजनाबद्ध रूपमा आक्रमण गरेका थिए। प्रारम्भिक अनुसन्धानमा हत्याको मुख्य कारण पारिवारिक झगडा र अंश मुद्दा रहेको खुलेको छ।
मृतक सिर्जनाले नौ वर्षअघि कृष्ण क्षेत्रीसँग दोस्रो विवाह गरेकी थिइन्। कृष्ण क्षेत्रीको जेठी श्रीमतीतर्फका छोराछोरी र सिर्जनाबीच सम्पत्ति विवाद रहेको प्रहरी अनुसन्धानबाट खुलेको एसपी कार्कीले जानकारी दिए।
उनले भने, “हामीले म्यानुअल र प्राविधिक दुवै माध्यमबाट सूक्ष्म विश्लेषण गरी सूचना संकलन गरेका थियौँ। सोही आधारमा अभियुक्तलाई पक्राउ गर्न सफल भएका हौँ। यो घटना योजनाबद्ध हत्या भएको देखिन्छ।”




