देश

औषधिको मूल्यवृद्धिमा अनियमितताको आशंका, महानिर्देशक ढकालमाथि छानबिन

काठमाडौं । औषधिको मूल्यवृद्धि प्रकरणमा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल छानबिनको दायरामा तानिएका छन्। अनियमित ढंगले औषधिको मूल्य बढाइएको भन्ने उजुरी परेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आवश्यक छानबिन गर्न निर्देशन दिएको हो।

प्रधानमन्त्री कार्यालयले स्वास्थ्य सचिवलाई पत्राचार गर्दै सात दिनभित्र छानबिन सम्पन्न गरी प्रतिवेदन पेश गर्न निर्देशन दिएको जनाएको छ। सोही पत्रपछि महानिर्देशक ढकाललाई मन्त्रालयमा तानिएको स्रोतले बताएको छ।

प्रधानमन्त्री कार्यालयमा दर्ता भएको उजुरीमा प्रचलित कानुनले तोकेको प्रक्रिया पूरा नगरी औषधिको मूल्य वृद्धि गरिएको उल्लेख गरिएको छ।छानबिनका क्रममा स्वास्थ्य मन्त्रालयलाई औषधिको मूल्य निर्धारण प्रक्रिया, सो प्रक्रिया पालना भए–नभएको अवस्था, तथा मूल्य निर्धारणमा अनियमितता भएको पाइए संलग्न व्यक्तिहरूको पहिचानसहित विस्तृत अध्ययन गर्न भनिएको छ।

यसैबीच मन्त्रालयलाई विषयगत विज्ञहरूको सहभागितामा तीन सदस्यीय छानबिन समिति गठन गरी सात दिनभित्र प्रतिवेदन बुझाउन पनि निर्देशन दिइएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *