मुख्य समाचार

अदालतको हस्तक्षेपपछि महासङ्घको निर्वाचन प्रक्रिया स्थगित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको साधारण सभा तथा निर्वाचन प्रक्रिया अदालतको आदेशपछि अनिश्चितकालका लागि रोकिएको छ। उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गर्दै तत्कालका लागि सबै प्रक्रिया स्थगित गर्न निर्देशन दिएको हो।

न्यायाधीश खड्कबहादुर केसी र दीपक खनालको संयुक्त इजलासले निवेदनमा उठाइएका विषयलाई ध्यानमा राख्दै यस्तो आदेश दिएको हो। यससँगै महासङ्घको ६०औँ वार्षिक साधारण सभा र नयाँ नेतृत्व चयन गर्ने तयारी प्रभावित भएको छ।

यसअघि पेट्रोलियम ढुवानी व्यवसायीसहित केही सदस्यले निर्वाचन प्रक्रिया विवादास्पद रहेको दाबी गर्दै अदालतमा रिट दायर गरेका थिए। सोही रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले अल्पकालीन आदेश जारी गरेको थियो, जसलाई अब निरन्तरता दिइएको छ।

निर्वाचन रोकिएसँगै महासङ्घभित्रको आन्तरिक विवाद र प्रक्रियागत प्रश्नहरू अझ सतहमा आएका छन्। अब अदालतको अन्तिम निर्णय नआएसम्म नयाँ नेतृत्व चयन प्रक्रिया अन्योलमै रहने देखिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *