जुम्ला । जुम्लाबाट बिरामी बोकेर नेपालगञ्ज जाँदै गरेको एम्बुलेन्स कालीकोटमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार हिमा गाउँपालिका जुम्लाको ना ०१००१ झ ००२४ नम्बरको एम्बुलेन्स खाडाचक्र नगरपालिका–२ स्थित मेयरखोला नजिकै दुर्घटना भएको हो। एम्बुलेन्स सडकबाट करिब २५ मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी हिमा गाउँपालिका–६ पातरखोलाका ३२ वर्षीय भीमबहादुर अधिकारी र एम्बुलेन्स चालक हिमा–७ मर्चीगाउँका २६ वर्षीय शक्तिबहादुर शाहीको मृत्यु भएको छ।
एम्बुलेन्सले हिमा–६ का ७१ वर्षीय बिरामी कलबहादुर अधिकारीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट थप उपचारका लागि नेपालगञ्ज लैजाँदै गरेको थियो। उपचारका लागि सँगै गएका उनका छोरा भीमबहादुर अधिकारीको घटनास्थलमै ज्यान गएको हो।
दुर्घटनामा घाइते भएका कलबहादुर अधिकारीको खुट्टामा चोट लागेको छ भने हिमा–७ मर्चीका २० वर्षीय लोकेन्द्र शाहीको कान र पेटमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ। दुवै जनाको कालीकोट जिल्ला अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार घटनास्थलमा बाक्लो हुस्सु लागेको कारण दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।




