देश

मुस्ताङमा सातौँ पटक हिमपात

मुस्ताङ। मुस्ताङमा सातौँ पटक फेरि हिमपात भएको छ । आज दिउँसो ११ः०० बजेदेखि बारागुङ मुक्तिक्षेत्र र उपल्लो मुस्ताङमा हिमपात भएको हो ।

यसअघि गत शनिबार र सोमबार पनि मुस्ताङमा भारी हिमपात भएको थियो । गत कात्तिक १० गते पहिलो हिमपात भएकामा जारी सिजनको चैत महिना सकिन लाग्दा मुस्ताङमा पटकपटक हिमपात र वर्षा हुने क्रम रोकिएको छैन ।

गर्मीयाम सुरु भइसक्दासमेत हिमपात हुनेक्रम नरोकिँदा मुक्तिनाथ मन्दिरको दर्शन र उपल्लो मुस्ताङ घुम्न जाने पर्यटकको यात्रा कष्टकर बनेको छ । गर्मीयाम लाग्ने बेलामा समेत हिमपात हुँदा तीर्थयात्रीको आवागमनमा कठिनाइ भइरहेको बारागुङ मुक्तिक्षेत्र– १ का वडाध्यक्ष प्रमेश गुरुङले बताए। हिमपात भए पनि जमिन तातिएकाले पग्लिएर सडक हिलाम्मे भएको छ ।

उपल्लो मुस्ताङमा हिमपातका कारण चिसो बढेपछि स्थानीयवासीको दैनिकीमा असर परेको छ । हिमपात भएपछि स्थानीय घरबाहिर निस्कन सकेका छैनन् भने पशुचौपायालाई आहारा व्यवस्थापन तथा चरनक्षेत्रमा लैजान समस्या भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *