काठमाडौँ। प्रतिनिधिसभाको बैठकमा ऐन विपरीत औषधिको मूल्यवृद्धि गरी ठूलो रकम अपचलन गरिएको भन्दै संलग्न अधिकारीलाई कारबाही गर्न माग गरिएको छ ।
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजीब खत्रीले औषधि परामर्श परिषद्को सिफारिसमा मन्त्रिपरिषद्ले औषधिको मूल्यवृद्धि गर्नुपर्नेमा प्रक्रिया मिचेर बदनियतपूर्वक आफूखुसी मूल्यवृद्धि गरी अर्बौँ लुटिएको दाबी गरे।
उनले महालेखा परीक्षकको प्रतिवेदनले औँल्याइसकेको अनियमिताको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिनलाई निष्कर्ष दिन समय लगाएको टिप्पणी गरे । सांसद खत्रीले औषधि व्यवस्था विभागका महानिर्देशकले २०७८ सालमा नयाँ दर्ता र नवीकरण गर्दा सात विदेशी कम्पनीका ५२ ब्रान्डको औषधिमा २६ दशमलव ८८ प्रतिशतदेखि ३३ दशमलव ९९ प्रतिशतसम्म गराइएको वृद्धिको मार जनताले खेप्नु परेको बताए ।
उनले उपचार खर्चमा विरामीको सबैभन्दा बढी खर्च औषधीमै हुने र स्वास्थ्य सेवा महङ्गो हुँदा जटिल रोग लागेका व्यक्तिको उपचारले धनी, निम्न मध्यमवर्गमा र निम्न वर्ग गरिबमा झर्छ भने गरिब उपचार नै नपाएर मृत्युवरण गर्ने अवस्थामा पुग्ने तथ्य स्मरण गराए ।




