काँक्रेविहार (सुर्खेत)। कर्णाली प्रदेश सरकारले स्थापना गर्ने भनिएको विषादी प्रयोगशाला अझै स्थापना हुनसकेको छैन । सल्यानको कपुरकोट र सुर्खेतको भेरीगङ्गा नगरपालिकाको हर्रेमा स्थापना गर्ने भनिएको प्रयोगशाला अझै स्थापना हुन नसकेको हो ।
यी दुवै ठाउँमा भवन निर्माण भइसकेको भए पनि प्रयोगशाला स्थापना हुन सकेका छैनन् । आर्थिक वर्ष २०७५/७६ देखि सुरु गरिएको यो काम अझै सञ्चालनमा आएको छैन । प्रयोगशालामा खटिने कर्मचारी तथा आवश्यक उपकरण नहुँदा हालसम्म प्रयोगमा आउन नसकेको हो । कपुरकोटको प्रयोगशाला हाल गाउँपालिकाले प्रयोग गर्दै आएको छ । कपुरकोटमा एक जना कर्मचारी खटाए पनि कामविहीन भएपछि ती कर्मचारी अहिले सुर्खेतमा तानिएको छ । कपुरकोट कर्णाली प्रदेशको सबैभन्दा बढी तरकारी उत्पादन हुने क्षेत्रमध्येमा पर्दछ ।
कर्णाली प्रदेशमा भित्रिने विषादीयुक्त खाद्य वस्तु तथा रासायनिक मलको नियन्त्रणका लागि कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले दुई ठाउँमा प्रयोगशाला स्थापना गर्ने लक्ष्य अझै पूरा हुनसकेको छैन । कर्णाली प्रदेश सरकारको पहिलो बैठकले गरेको जैविक तथा अग्र्यानिक प्रदेश बनाउनका लागि अग्र्यानिक प्रदेश निर्माण गर्ने घोषणा गरेको थियो ।
पहिलो बैठकले गरेको घोषणालाई मूर्तरूप दिन दुई ठाउँमा विषादी परीक्षण प्रयोशालाको निर्माण गर्ने भनिएको लामो समय बितेपनि पूर्णता पाउन सकेको छैन । कर्णाली प्रदेशलाई जैविक कर्णाली बनाउने सोच र रणनीतिमा अग्र्यानिक कर्णालीको अवधारणा अगाडि सारिएको प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमन्त्री विनोदकुमार शाहले बताउनुभयो । प्रदेशलाई अग्र्यानिक बनाउनका लागि क्रमशः आधारहरू निर्माण गर्न गइरहेको र नीतिगत आधारहरू, व्यावहारिक प्रयोग र अभ्यासमा आधारित रहेको मन्त्री शाहले बताए ।




