काठमाडौँ । नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दो क्रममा रहेका बेला पुराना गाडीलाई विद्युतीयमा रूपान्तरण गर्ने पहलले नयाँ बहस जन्माएको छ। यसै सन्दर्भमा प्रतिनिधिसभा सदस्य तथा वैज्ञानिक महावीर पुनले विद्यमान कानुनी संरचनामा व्यापक सुधार आवश्यक रहेको बताएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले पुराना सवारीलाई विद्युतीयमा रूपान्तरण गर्न हालका ऐन, नियमावली, कार्यविधि र मापदण्डहरू बाधक बनेको उल्लेख गरेका छन्। उनका अनुसार यी कानुनी व्यवस्थाहरू व्यवसायीमैत्री र व्यवहारिक बनाउन नसकिएसम्म यस्तो अभियान प्रभावकारी रूपमा अघि बढ्न सक्दैन।
पुनले अबको पहिलो कदमका रूपमा सम्बन्धित कानुनी दस्तावेजहरूको विस्तृत अध्ययन गरी आवश्यक संशोधनका लागि सुझाव संकलन गरिने जानकारी दिएका छन्। यसका लागि विज्ञहरूसँग छलफल गरी ठोस निष्कर्षमा पुग्ने तयारी भइरहेको उनले बताएका छन्। उनका अनुसार एक साताभित्रै सरोकारवाला र विज्ञहरूसँग बैठक आयोजना गरिनेछ, जहाँ पुराना सवारीलाई विद्युतीयमा रूपान्तरण गर्ने सम्भावना, चुनौती र कानुनी अड्चनबारे विस्तृत बहस हुनेछ।
पुनले यस अभियानमा सहभागी हुन इच्छुक विज्ञ तथा सरोकारवालालाई सम्पर्क गर्न आह्वानसमेत गरेका छन्। नेपालमा बढ्दो प्रदूषण र इन्धनमा निर्भरता घटाउने लक्ष्यसँगै पुराना गाडीलाई विद्युतीयमा रूपान्तरण गर्ने योजना महत्त्वपूर्ण मानिएको छ। यसले वातावरण संरक्षण, ऊर्जा बचत र दिगो यातायात प्रणाली विकासमा सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ।




