काठमाडौँ । एमालेका युवा सांसद सुहाङ नेम्वाङले कानुन व्यवसायीहरूलाई सिंहदरबार परिसरमा सहज प्रवेशको व्यवस्था गर्न माग गरेका छन्।
बुधबार प्रधानमन्त्रीलाई पत्र लेख्दै नेम्वाङले नेपाल बार काउन्सिलबाट जारी गरिएको परिचयपत्रकै आधारमा कानुन व्यवसायीलाई सिंहदरबारमा सहज रूपमा प्रवेश दिनुपर्ने उल्लेख गरेका हुन्।
हाल प्रशासनिक अदालतले नागरिक एपको पासका आधारमा मात्र प्रवेश दिने व्यवस्था गरेको भन्दै यसले कानुन व्यवसायीहरूलाई कामकाजमा समस्या सिर्जना गरेको उनको भनाइ छ।
पत्रमा उनले कुनै पनि नेपाली नागरिकले आफ्नो मुद्दामा कानुन व्यवसायीमार्फत प्रतिनिधित्व गराउने संवैधानिक अधिकार सुनिश्चित रहेको उल्लेख गरेका छन्। सो अधिकारको प्रभावकारी कार्यान्वयनका लागि सिंहदरबारस्थित विभिन्न निकायमा कामकाज गर्न कानुन व्यवसायीको सहज पहुँच आवश्यक पर्ने उनले बताएका छन्।
त्यस्तै, सरकारी कामकाज, मुद्दासम्बन्धी प्रक्रिया तथा कानुनी परामर्शका लागि मन्त्रालयहरू र अन्य निकायमा कानुन व्यवसायीको प्रत्यक्ष पहुँच अपरिहार्य रहेको उनको भनाइ छ।
नेम्वाङले सिंहदरबारभित्र रहेका विभिन्न निकाय तथा संसदीय दलका कार्यालयहरूले समेत कानुनी परामर्शका लागि कानुन व्यवसायी नियुक्त गर्ने प्रचलन रहेको उल्लेख गर्दै त्यस्ता कार्यलाई सहज बनाउन प्रवेश प्रणाली सरल बनाउनुपर्ने आवश्यकता औँल्याएका छन्।





