ललितपुर । हनी ट्र्यापमा पारेर आपराधिक लाभ लिएको आरोपमा दायर मुद्दामा जिल्ला अदालत ललितपुरले प्रहरी निरीक्षक बिनुकुमारी शाहीसहित पाँच जनालाई सफाइ दिएको छ।
मंगलबार न्यायाधीश ढाकाराम पौडेलको इजलासले अभियुक्तमध्ये तजम्मुल इसलामलाई दोषी ठहर गर्दै अन्य पाँच जनालाई आरोपबाट मुक्त गरेको हो।
यस प्रकरणमा जिल्ला प्रहरी परिसर ललितपुरले २०८१ मंसिर ९ गते छ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। मुद्दामा प्रहरी निरीक्षक शाही, सुस्मा विश्वकर्मा, ताजमूल उर्फ तजम्मुल इसलाम, भीमादेवी थापा, महेन्द्र हमाल र दर्शन पोखरेललाई प्रतिवादी बनाइएको थियो। शाही र पोखरेल भने पछि अदालतमा उपस्थित भएका थिए।
अदालतले दोषी ठहरिएका तजम्मुल इसलामलाई एक वर्ष ६ महिना कैद तथा ३० हजार रुपैयाँ जरिवाना सजाय सुनाएको जनाएको छ।
उक्त घटनामा संखुवासभा घर भई हाल ललितपुरको सानागाउँ बस्दै आएका इन्द्रकुमार राईबाट ३० लाख रुपैयाँ असुल गरिएको आरोप थियो। जबरजस्ती करणीको मुद्दा लगाइदिने धम्की दिँदै सुरुमा ६० लाख रुपैयाँ माग गरिएको अभियोगमा उल्लेख छ।
अभियुक्तहरूले राईलाई बुंगमतीस्थित प्रहरी प्रभागमा पुर्याई प्रहरी निरीक्षक शाहीकै अगाडि रकम माग गरेको आरोप लागे पनि अदालतले उक्त आरोपमा शाहीसहित अन्य प्रतिवादीलाई सफाइ दिएको हो।




