देश

मध्यपूर्व तनावबीच इजरायलस्थित नेपालीलाई सावधानी अपनाउन आग्रह

काठमाडौं। इजरायलस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपाली नागरिकका लागि ‘अत्यन्त जरुरी सूचना’ जारी गर्दै सतर्क रहन आग्रह गरेको छ।

मध्यपूर्वमा बढ्दो तनाव र युद्धको जोखिमलाई ध्यानमा राख्दै दूतावासले सबै नेपालीलाई स्थानीय नियम र सुरक्षा मापदण्ड पालना गर्न भनेको हो।

दूतावासले इजरायल सरकार तथा आधिकारिक निकायबाट जारी हुने सूचना र साइरन संकेतबारे अद्यावधिक रहन आग्रह गरेको छ। साइरन वा एसएमएस अलर्ट प्राप्त भएमा ढिलाइ नगरी नजिकको बम सेल्टरमा जान पनि सुझाव दिइएको छ।

राहदानी, परिचयपत्र, सवारी चालक अनुमतिपत्र र बैंक कार्डजस्ता आवश्यक कागजात सधैं साथमा राख्न भनिएको छ। साथै, विकसित घटनाक्रमबारे नियमित जानकारी लिन र समस्या परेमा तत्काल दूतावाससँग सम्पर्क गर्न आग्रह गरिएको छ।

दूतावासले सामाजिक सञ्जालमा युद्धसम्बन्धी सामग्री अनावश्यक रूपमा सेयर नगर्न र परिवार तथा आफन्तसँग नियमित सम्पर्कमा रहन पनि अनुरोध गरेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *