देश

कोरियाबाट समेत करोडौं उठाएको हेटौंडा काठमाण्डौ सुरुङमार्ग ठगीको छानबिन अघि बढ्ने सङ्केत, करिब ३१ करोड ७६ लाख हिनामिना !

काठमाडौं । हेटौंडा काठमाडौँ सुरुङ्ग मार्ग निर्माणको नाममा दक्षिण कोरियामा रहेका नेपाली सहित सर्वसाधारणबाट उठाइएको झण्डै ३१ करोड ७६ लाख रुपैयाँ हिनामिना भएको आरोपसहित सरकारको ध्यानाकर्षण गराइएको छ।

सामाजिक अभियन्ता विशालराज महतले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै उक्त रकम नेपाल पूर्वाधार विकास कम्पनीले सेयरमार्फत संकलन गरेको भए पनि हालसम्म कुनै ठोस निर्माण कार्य नगरेको र सर्वसाधारण ठगीमा परेको व्यापक गुनासो आएको बताएका छन्।

उनका अनुसार सो विषयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मन्त्रीसमक्ष औपचारिक रूपमा ध्यानाकर्षण गराइएको छ। ध्यानाकर्षण पत्र मन्त्रालयको सचिवालयमा दर्ता भइसकेको र आवश्यक प्रक्रिया पूरा गर्दै कार्यान्वयन तहमा अगाडि बढिसकेको जानकारी पनि उनले दिएका छन्।

महतले सर्वसाधारणले गाई बाख्रा बेचेर, जग्गा धितो राखेर जम्मा गरेको पसिनाको पैसा फिर्ता गराउनु राज्यको जिम्मेवारी भएको स्पष्ट पारेका छन्। उनले निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न र पीडितलाई न्याय दिलाउन सरकारसँग माग गरेका छन्। यसैबीच, उनले सम्बन्धित सबै सरोकारवालालाई केही समय धैर्य गर्न आग्रह गर्दै आफूहरूले निरन्तर पहल र दबाब सिर्जना गर्ने प्रतिबद्धता जनाएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *