ढोरपाटन (बागलुङ)। बागलुङमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको निसीखोला गाउँपालिका–४ जाडेपाकी ५७ वर्षीया रेशमकुमारी शाही भिरबाट लडेर मृत्यु भएको हो ।
शाही सोमबार साँझ काम गरेर घर फर्कने क्रममा भिरबाट लडेकी शाहीको आज बिहान शव फेला परेको इलाका प्रहरी कार्यालय गलकोटका प्रहरी निरीक्षक डम्बर बोहराले जानकारी दिए । शाही काम गरेर साँझ घर नफर्किने क्रममा भिरबाट लडेको हुन सक्ने आशङ्का गरिएको छ ।
राति अबेरसम्म घर नआएपछि आफन्तले खोजी गरेका थिए । आज बिहान ९ः०० बजे निसीखोला दोस्रो लघु जलविद्युत् आयोजनाको नहरमा शव फेला परेको प्रहरी निरीक्षक बोहराले बताउनुभयो । अप्ठ्यारो बाटोमा यात्रा गर्दा उछिट्टिएर नहरमा खसेको उहाँको भनाइ छ ।
प्रहरी निरीक्षक बोहराले भन्नुभयो, “नहरमाथि भिर रहेछ, साँझको बेला हिँड्दा उछिट्टिएर तल खसेको जस्तो देखियो, पछ्यौरा, कोदालोसहितका केही सामान पनि भिरमा अड्किएको अवस्थामा फेला परेको छ ।” शाहीको शवपरीक्षणका लागि बुर्तिबाङ प्रादेशिक अस्पताल ल्याइएको प्रहरी निरीक्षक बोहराले बताए । शाही बाटोदेखि करिब ५० मिटर तल नहरमा खसेको उहाँको भनाइ छ ।




