देश

‘संविधानले नै श्रमिकलाई ट्रेड युनियन खोल्ने अधिकार सुनिश्चित गरेको छ’

काठमाडौं। नेपाल ट्रेड युनियन कांग्रेसले नेपालको संविधानले श्रमिकलाई ट्रेड युनियन खोल्ने अधिकार सुनिश्चित गरेको भन्दै यो अधिकार खोस्न नहुनेमा जोड दिएको छ।

युनियनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा संविधानको धारा ३४ (३) अनुसार श्रमिकले ट्रेड युनियन खोल्न, त्यसमा सहभागी हुन र सामूहिक सौदावाजी गर्न पाउने हक सुनिश्चित गरिएको उल्लेख गरेको छ।

युनियनका अध्यक्ष योगेन्द्रकुमार कुँवरले शासकीय सुधारका दृष्टिले सरकारले ल्याएका कार्यक्रम राम्रा भए पनि बुँदा नं. १२ मा ट्रेड युनियन खारेज गर्ने निर्णय श्रमिकले स्वीकार गर्न नसक्ने बताए। “हामीले दलीय ट्रेड युनियन हुनुपर्छ भनेका छैनौँ, तर ट्रेड युनियन खारेज गर्नुपर्छ भन्ने निर्णयमा हाम्रो आपत्ति छ। हाम्रो सङ्गठन स्वतन्त्र तथा पेसागत ट्रेड युनियन आन्दोलनको पक्षमा दृढ छ,” उहाँले स्पष्ट पार्नुभयो।

युनियनका महासचिव अजयकुमार राईले भने, सरकारले गरेको ट्रेड युनियन खारेजसम्बन्धी निर्णय नेपालको संविधान र अनुमोदित अन्तर्राष्ट्रिय महासन्धिसँग मेल नखाने बताए। उनले अन्तर्राष्ट्रिय ट्रेड युनियनले पनि चासो राखेको र नेपालको ट्रेड युनियन आन्दोलनप्रति ऐक्यबद्धता जनाएको उल्लेख गरे।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *