तम्घास। जिल्लाको धुर्कोट गाउँपालिका–४ जैसिथोक निवासी झम्मन गिरी (३५) र उनकी तीन वर्षीया छोरी पाँच दिनदेखि सम्पर्कविहीन भएका छन्। उनीहरू गत शुक्रबारदेखि हराइरहेका हुन्।
स्थानीय जनप्रतिनिधि र नागरिकका अनुसार, गिरीकी श्रीमतीको एक वर्षअघि निधन भएको थियो। त्यसपछि झम्मन गिरीले वडाबाट गरिबी सम्बन्धी पत्र तयार गरी आर्थिक सङ्कलन गर्ने उद्देश्य राखेका थिए।
स्थानीय मानबहादुर कुँवरका अनुसार, उक्त पत्रको आधारमा चन्दा उठाएको र मादक पदार्थ सेवन गरी बाबुछोरी सम्पर्कविहीन भएको प्रारम्भिक अनुमान छ। धुर्कोटकै हुलाकमा खिचिएको झम्मन र उनकी छोरीको भिडियो हाल सामाजिक सञ्जालमा भाइरल भएको छ।
भिडियो भाइरल भएपछि बाल अधिकारकर्मी, महिला अधिकारकर्मी लगायतले तत्काल बाबुछोरीको खोजी थालेका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नारायण अधिकारीले बच्चा र बाबुको खोजतलासी जारी रहेको र मातहतका सबै निकायलाई जानकारी गराइएको बताउँदै ‘लोकेसन ट्र्याक’ गर्ने काम भइरहेको जानकारी दिए।
सन्तानमा गिरीकी एक्ली छोरी रहेको बताइएको छ। प्रहरी र स्थानीय प्रशासनले बाबुछोरीको सुरक्षित फिर्तीका लागि सबै उपाय अवलम्बन गरिरहेको छ।




