देश

राष्ट्रियसभाका चार समिति सभापति निर्विरोध, दलहरूबीच सहमतिमा चयन

काठमाडौं । राष्ट्रियसभाका रिक्त रहेका चारवटा समिति सभापति पदमा सदस्यहरू निर्विरोध चयन भएका छन्। आज सम्बन्धित समितिका ज्येष्ठ सदस्यको अध्यक्षतामा बसेको बैठकले दलहरूबीच भएको सहमतिका आधारमा एक–एक उम्मेदवारको प्रस्ताव गर्दै निर्विरोध चयन गरेको हो।

निर्विरोध चयन हुनेहरूमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा पूजा चौधरी, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा जयन्तीदेवी राई, विकास, आर्थिक मामिला तथा सुशासन समितिमा कृष्णप्रसाद पौडेल तथा विधायन व्यवस्थापन समितिमा कृष्णबहादुर रोकाया रहेका छन्। राष्ट्रियसभाका सचिव तुलबहादुर कँडेलले उक्त जानकारी दिएका हुन्।

पूजा चौधरीको प्रस्तावकमा मदनकुमारी शाह (गरिमा) तथा समर्थकमा युवराज शर्मा र रुक्मिणी कोइराला रहेका थिए। जयन्तीदेवी राईको प्रस्तावकमा सोनाम गेल्जेन शेर्पा र समर्थकमा दुर्गाकुमारी गुरुङ थिए।

यस्तै, कृष्णप्रसाद पौडेलको प्रस्तावकमा नारायणदत्त भट्ट र समर्थकमा जगत तिमिल्सना रहेका थिए भने कृष्णबहादुर रोकायाको प्रस्तावकमा आनन्दप्रसाद ढुङ्गाना र समर्थकमा गीता देवकोटा रहे।

सभापतिका उम्मेदवार प्रस्ताव गर्ने सदस्यहरूले सहमतिको राजनीति, विधिको शासन र लोकतान्त्रिक अभ्यासलाई सुदृढ गर्न सहमतिका आधारमा उम्मेदवारी अघि बढाइएको बताएका थिए। ती समितिका सभापति पद गत फागुन २० गतेदेखि रिक्त रहेका थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *