काठमाडौं । खोटाङबाट श्रम संस्कृति पार्टीका तर्फबाट निर्वाचित सांसद आर्यन राईले देशका विभिन्न क्षेत्रमा देखिएका बाँदर आतंक, कालोबजारी र सुकुम्वासी समस्याहरूको तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
मंगलबार संंघीय संसद अन्र्तगतको प्रतिनिधिसभाको बैठकमा सांसद राईले विशेषगरी ग्रामीण क्षेत्रमा बढ्दै गएको बाँदर आतंकले कृषकहरू मारमा परेको उल्लेख गर्दै यसको दीर्घकालीन समाधानका लागि ठोस कदम चाल्न सरकारसमक्ष माग गरेका हुन् । उनले यस सम्बन्धमा वनमन्त्रीलाई तीन बुँदे ध्यानाकर्षण पत्रसमेत बुझाइसकेको जानकारी दिएका छन्।
त्यस्तै, बजारमा ग्यास, डिजेल र पेट्रोलको मूल्य वृद्धि तथा कालोबजारीको हल्लाले सर्वसाधारण प्रभावित भएको भन्दै उनले सरकारले आपूर्ति व्यवस्था प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्। राईले सुकुम्वासी समस्या पनि अझै समाधान हुन नसकेको भन्दै राज्यले स्पष्ट नीति बनाएर उनीहरूको व्यवस्थापन गर्नुपर्ने बताए। सुकुम्वासीलाई दीर्घकालीन समाधान बिना अलपत्र पार्नु उचित नहुने उनको भनाइ छ।
उनले सरकारलाई यी तीनै विषयलाई प्राथमिकतामा राखेर तत्काल कार्यान्वयन योग्य योजना अघि बढाउन आग्रह गरेका छन्।




