देश

स्वास्थ्य समस्या देखिएपछि उपराष्ट्रपति यादव अस्पतालमा, अवस्था स्थिर

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्। उनलाई सोमबार राति करिब ९ बजे महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारका लागि लगिएको हो।

अस्पताल स्रोतका अनुसार उच्चरक्तचाप बढ्नुका साथै पेटमा ग्यासको समस्या देखिएपछि उनलाई अस्पताल ल्याइएको थियो। अस्पतालका निर्देशक डा. रत्नमणि गजुरेलले सुरुवाती अवस्थामा रक्तचाप उच्च रहेको जानकारी दिएका छन्।

हाल उपराष्ट्रपति यादवको स्वास्थ्य अवस्था सामान्य र नियन्त्रणमा रहेको बताइएको छ। केही परीक्षणका नतिजा सामान्य देखिएको र बाँकी रिपोर्ट आउने क्रममा रहेको अस्पतालले जनाएको छ।

डा. गजुरेल नेतृत्वको चिकित्सक टोली तथा पेटरोग विशेषज्ञहरूको निगरानीमा उपचार भइरहेको छ। उनलाई अस्पतालको भीआईपी क्याबिनमा राखेर थप निगरानी गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *