देश

लुम्बिनीमा पुनरुत्थानशील कृषिको क्षेत्रीय मन्थन, नेपाल–भारत–भुटानका १२० विज्ञ जुट्ने

काठमाडौं । लुम्बिनीमा दिगो र प्रकृतिमैत्री कृषिप्रणालीबारे केन्द्रित गहन पुनरुत्थानशील कृषि सम्बन्धी क्षेत्रीय सम्मेलन आजदेखि सुरु हुँदैछ। लुम्बिनी बौद्ध विश्वविद्यालय परिसरमा चैत २३ देखि २५ गतेसम्म सञ्चालन हुने सम्मेलनमा नेपाल, भारत र भुटानका करिब १ सय २० अनुसन्धानकर्ता, विज्ञ र सरोकारवाला सहभागी हुने जनाइएको छ।

नेपाल जीन बैंक ९एनएआरसी०, डब्लुडब्लुएन र डब्लुडब्लुएफ नेपालको संयुक्त आयोजनामा तथा रकफेलर फाउन्डेसनको आर्थिक सहयोगमा हुन लागेको सम्मेलनले दक्षिण एशियाली कृषिप्रणालीमा रूपान्तरणकारी परिवर्तन सम्बन्धी बहसलाई केन्द्रमा राख्ने आयोजकले जनाएको छ।

सम्मेलनमा स्वदेशी ज्ञान, कृषि–पर्यावरणीय अभ्यास र पुनरुत्थानात्मक खेती प्रणाली लाई आधुनिक अनुसन्धानसँग जोडेर दिगो कृषि विकासको साझा मोडेल निर्माणबारे गहन छलफल हुनेछ। आयोजकका अनुसार कृषि प्रणालीलाई केवल खाद्य उत्पादनको सीमित परिभाषामा नराखी स्वास्थ्य, पोषण, जैविक विविधता, संस्कृति र जीविकोपार्जनसँग जोडिएको समग्र प्रणाली का रूपमा हेर्ने अवधारणालाई प्राथमिकता दिइनेछ।

यस क्रममा कृषि जैविक विविधता, वन–पर्यावरण, जलस्रोत, नवीकरणीय ऊर्जा, भूमि व्यवस्थापन, सामाजिक संरचना, परम्परा र आध्यात्मिक मूल्य जस्ता बहुआयामिक विषयमा क्षेत्रीय अनुभव आदान–प्रदान हुने अपेक्षा गरिएको छ। सम्मेलनले नेपाल, भारत र भुटानबीच ज्ञान साझेदारी र दीर्घकालीन सहकार्यको आधार समेत बलियो बनाउने विश्वास गरिएको छ।

आधुनिक कृषि प्रणालीले भोगिरहेका माटोको उर्वराशक्ति क्षय, जैविक विविधताको ह्रास, जलवायु जोखिम र पारिस्थितिक असन्तुलन जस्ता चुनौतीलाई कसरी पुनर्जीवित गर्ने भन्ने विषय सम्मेलनको मुख्य बहस रहनेछ। आयोजकले यसलाई भविष्यको पुनरुत्थानशील र प्रकृतिसँग सहअस्तित्वमा आधारित कृषि नीतिका लागि महत्वपूर्ण मञ्च का रूपमा व्याख्या गरेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *