काठमाडौं । नेपाली चलचित्र क्षेत्रका अग्रणी निर्देशक तुलसी घिमिरेलाई मानार्थ नेपाली नागरिकता प्रदान गर्ने सरकारी प्रक्रिया औपचारिक रूपमा अघि बढाइएको छ। सूचना तथा सञ्चार मन्त्रालयले यसका लागि गृह मन्त्रालयलाई आवश्यक प्रक्रिया सुरु गर्न पत्राचार गरेको हो। मन्त्रालयले घिमिरेलाई नेपाली भाषा, कला र संस्कृतिको प्रवर्द्धनमा पुर्याएको विशिष्ट योगदानको सम्मानस्वरूप मानार्थ नागरिकता उपलब्ध गराउन आग्रह गरेको जनाएको छ। यस सम्बन्धमा चलचित्र विकास बोर्डको सिफारिस तथा नेपाल सरकारको ८८सचिवस्तरीय निर्णय (२०६८ असार २४)८८लाई आधार बनाइएको पत्रमा उल्लेख छ।
सूचना तथा सञ्चार मन्त्रालयले गृह मन्त्रालयलाई पठाएको पत्रसँग घिमिरेको व्यक्तिगत विवरण, कदरपत्र, सम्मानपत्र तथा मन्त्रालयको निर्णयको प्रतिलिपिसहित पाँच पृष्ठका कागजात संलग्न गरिएको छ। मन्त्रालयका शाखा अधिकृत डा। कृष्णबहादुर घिमिरेद्वारा हस्ताक्षरित पत्रमा गृह मन्त्रालयलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी नागरिकता उपलब्ध गराउन अनुरोध गरिएको छ।
‘कुसुमे रुमाल’, ‘चिनो’, ‘दुई थोपा आँसु’ र ‘दर्पण छायाँ’ जस्ता कालजयी चलचित्र निर्देशन गरेका घिमिरेले दशकौँदेखि नेपाली सिनेमामा गहिरो प्रभाव छाड्दै आएका छन्। भारतको कालिम्पोङमा जन्मिएका घिमिरे हाल भारतीय नागरिक हुन्। सरकारको यो पहललाई नेपाली चलचित्र र सांस्कृतिक क्षेत्रमा पुर्याएको योगदानप्रतिको उच्च सम्मानका रूपमा हेरिएको छ।





