देश

फर्जी पत्र प्रकरणमा सर्वोच्चका शाखा अधिकृत विष्ट दोषी ठहर

काठमाडौं । रेशम चौधरी पक्राउ प्रकरणमा जोडिएको फर्जी पत्र बनाउने आरोपमा सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्ट दोषी ठहर भएका छन्। जिल्ला अदालत काठमाडौंले लिखतसम्बन्धी कसुरमा उनलाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि छुट्टै सुनुवाइ गर्ने आदेश दिएको छ।

न्यायाधीश खिमानन्द भुषालको इजलासले विष्टले जारी गरेको अनधिकृत पत्रकै आधारमा नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरी पक्राउ परेको ठहर गरेको हो। अदालतमा विचाराधीन विषय टुंगो नलाग्दै चौधरीलाई कैद पठाउने आशयको उक्त पत्र गैरकानुनी भएको पुष्टि भएपछि उनी केही घण्टामै रिहा भएका थिए।

घटनापछि विष्टलाई पक्राउ गरी सरकारी कागजात किर्ते गरेको आरोपमा मुद्दा चलाइएको थियो। यसअघि जिल्ला अदालतले उनलाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो, जसलाई उच्च अदालत पाटनले समेत सदर गरेको थियो। अदालतको पछिल्लो निर्णयसँगै विष्टमाथि कैद तथा जरिवाना निर्धारणका लागि अब छुट्टै सुनुवाइ हुने भएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *