खेलकुद

राखेप–एन्फा विवाद चर्कियो, फिफाले निलम्बन सिफारिस गर्ने संकेत

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) को चुनावी साधारण सभा रोकिए पछि फिफाबाट निलम्बनको सम्भावना बढेको छ ।

फिफा र एएफसीले एन्फालाई शनिबार पत्र पठाउदै ७ दिन भित्र निर्वाचन गरेर नयाँ कार्यसमिति चयन नगरेमा फिफा काउन्सिलमा निलम्बनको प्रस्ताव पेश गर्ने चेतावनी दिएका छन् ।

फिफा र एएफसीले राष्ट्रिय खेलकुद परिषदले एन्फालाई गरेको तीन महिनाको निलम्बनको निर्णयले एन्फाको स्वायत्ततामा हस्तक्षेप गरेको देखिएको र यो तेस्रो पक्षको अनुचित प्रभावको उदाहरण भएको उल्लेख गरिएको छ ।

फिफा र एएफसीले राखेपको निर्णय तत्काल फिर्ता नभए र सात दिनभित्र एन्फालाई पुरानै अवस्थामा फर्किएर चुनाव प्रक्रिया अघि बढाउन दिने सुनिश्चितता नदिइए कडा कदम चाल्ने चेतावनी दिएका छन् । यस्तो अवस्थामा एन्फामाथि निलम्बनको सिफारिस गरिने जनाइएको छ ।

एन्फा निलम्बनमा परेमा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता, विकास कोषमा पहुँच लगायतका सम्पूर्ण अधिकार गुम्नेछन् भने अन्य देशका फुटबल संघहरूलाई एन्फासँग कुनै पनि खेलकुद सम्बन्ध राख्न प्रतिबन्ध लगाइनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *