काठमाडौँ । दलहरुबीच राष्ट्रिय सभाको उपाध्यक्ष नेकपा एमालेलाई दिने सहमति भएको छ । उपाध्यक्ष र चार समितिका सभापतिहरूको बाँडफाँटबारे नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा र जसपा नेपालबीच आइतबार सहमति भएको हो ।
एमालेले सांसद लिला भण्डारीलाई उपाध्यक्ष बनाउने भएको छ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाका अनुसार उक्त सहमतिअनुसार एमालेले राष्ट्रिय सभाको उपाध्यक्ष पाउनेछ भने कांग्रेसले दुई संसदीय समितिका सभापति तथा नेकपा र जसपा नेपालले एक/एक समितिको सभापति पाउने भएका छन् ।
राष्ट्रिय सभामा विकास, आर्थिक मामिला तथा सुशासन, विधायन व्यवस्थापन, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार गरी चार समिति रहेका छन् । त्यस्तै, दुईवटा संयुक्त समिति छन्, जसमा प्रतिनिधि सभाका सदस्यहरू पनि रहने व्यवस्था रहेको छ ।
राष्ट्रिय सभामा हाल नेपाली काँग्रेसका २४, नेकपाका १७, एमालेका १०, जसपाका २ तथा लोसपा र जनमोर्चाका एक एक सांसद छन् ।त्यस्तै दुई जना मनोनित सांसद रहेका छन् ।




