काठमाडौं । विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको आरोप लागेका ‘सानुभाइ’ उपनामले चिनिने युवराज गुरुङलाई प्रहरीले दरबारमार्ग क्षेत्रबाट नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार रात्रिकालीन व्यवसायीहरूलाई धम्की दिँदै आर्थिक असुली गर्ने गतिविधिमा संलग्न रहेको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको हो। उनी राजनीतिक रूपमा नेपाली कांग्रेस कानेता अर्जुननरसिंह केसी समूहसँग निकट रहेको बताइन्छ।
नुवाकोटको ककनी गाउँपालिका–५ घर भएका २६ वर्षीय गुरुङ यसअघि पनि हुलहुज्जत तथा आक्रमणजस्ता घटनामा संलग्न भई पटक–पटक पक्राउ पर्दै आएका छन्। पछिल्लो पटक ठमेलस्थित क्लब ओम्नियाका सञ्चालकमाथि आक्रमणको आरोपमा उनी पक्राउ परेका थिए। जिल्ला प्रहरी परिसरका प्रवक्ता पवनकुमार भट्टराई का अनुसार सार्वजनिक शान्ति भंग गरेको अभियोगमा गुरुङमाथि म्याद थप गरी थप अनुसन्धान अघि बढाइनेछ।




