काठमाडौं । सरकारको शासकीय सुधार अभियानअन्तर्गत अवैध अनलाइन सट्टेबाजीमाथि कडा कदम चाल्दै ७ हजारभन्दा बढी एप र वेबसाइट बन्द गरिएका छन्। नेपाल दूरसञ्चार प्राधिकरण ले इन्टरनेट सेवा प्रदायकसँग समन्वय गर्दै सट्टेबाजीसँग सम्बन्धित यस्ता प्लेटफर्महरू हटाएको जनाएको छ। प्राधिकरणका अनुसार पछिल्लो समय अवैध अनलाइन जुवाको गतिविधि बढ्दै गएपछि व्यापक निगरानीसहित कारबाही तीव्र बनाइएको हो।
प्राधिकरणका उपनिर्देशक सूर्यप्रसाद लामिछानेका अनुसार एक सातामै ५० भन्दा बढी गुनासा प्राप्त भएपछि ती सबैलाई सम्बोधन गर्दै एप तथा वेबसाइट पहिचान गरी बन्द गरिएको हो। मन्त्रिपरिषद्बाट स्वीकृत शासकीय सुधार कार्यसूचीअनुसार सट्टेबाजीसम्बन्धी सामग्री २४ घण्टाभित्र हटाउने व्यवस्था लागू गरिएको छ। सोही निर्णय कार्यान्वयन गर्दै डिजिटल माध्यमबाट सञ्चालन भइरहेका अवैध प्लेटफर्महरू नियन्त्रणमा लिइएको हो।
कानुनी रूपमा पनि सट्टेबाजी कडा रूपमा निषेध गरिएको छ। मुलुकी अपराध संहिता २०७४ अनुसार यस्तो गतिविधिमा संलग्न पाइएमा प्रयोग भएको रकम जफत हुनुका साथै एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ। सरकारले सर्वसाधारणलाई यस्ता एप वा वेबसाइट प्रयोग नगर्न पुनः सचेत गराउँदै शंकास्पद गतिविधि देखिएमा सम्बन्धित निकायमा जानकारी गराउन आग्रह गरेको छ।




