काठमाडौँँ । संयुक्त अरब इमिरेट्स(युएई) को अबुधाबीको अजबान क्षेत्रमा ड्रोन आक्रमणमा घाइते भएका सात मध्ये ६ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।
अबुधाबीस्थित नेपाली दूतावासले शनिबार विज्ञप्ति जारी गरी गम्भीर एक जनाको उपचार भइरहेको र उनको अवस्था पनि खतरामुक्त रहेको जनाएको छ । साथै उनी पनि छिट्टै डिस्चार्ज हुनसक्ने सम्भावना रहेको दूतावासले जनाएको छ । दूतावासले उनीहरुको अवस्थाका बारेमा जानकारी लिएको र आवश्यक सहयोग र समन्वयका लागि निरन्तर कार्य गरिरहेको छ ।
युएई सरकारद्वारा उनीहरुको आवश्यक स्वास्थ्य उपचार भइरहेको समेत दूतावासले जनाएको छ । अहिले मध्यपूर्वमा विकसित परिस्थितिको सन्दर्भमा संयुक्त अरब इमिरेट्समा रहेका नेपाली नागरिकहरूलाई युएई सरकारले जारी गरेको सुरक्षा सम्बन्धी मार्गदर्शन तथा सूचनाहरूको पूर्ण रूपमा पालना गर्न दूतावासले अनुरोध गरेको छ ।
शुक्रबार इरानले प्रहार गरेको ड्रोनलाई यूएईको वायु रक्षा प्रणालीले क्षेप्यास्त्र र अवरोधपछि अबुधाबीको अजबान क्षेत्रमा भग्नावशेष खसेको थियो । त्यसमा परी ७ जना नेपाली घाइते भएका थिए ।




