समाचार

प्रशासन–व्यवसायी सहमतिपछि सुर्खेतमा पुनः गुड्न थाले सार्वजनिक सवारी

 । बन्दका कारण प्रभावित बनेको सुर्खेतको सार्वजनिक यातायात सेवा पुनः सञ्चालनमा आएको छ। जिल्ला प्रशासन कार्यालय र यातायात व्यवसायीबीच भएको १० बुँदे सहमतिपछि शुक्रबारदेखि सवारी साधनहरू नियमित रूपमा चल्न थालेका हुन्।

सहमतिअनुसार अब सार्वजनिक सवारीले बसपार्क बाहिरबाट यात्रु उठाउन पाउने छैनन्। यात्रुले अनिवार्य रूपमा तोकिएका काउन्टरबाट टिकट लिनुपर्ने व्यवस्था लागू गरिएको छ। साथै, सवारी साधनहरूले निर्धारित बसपार्कबाटै आफ्नो गन्तव्यतर्फ प्रस्थान गर्नुपर्नेछ।

नयाँ व्यवस्थाअनुसार तोकिएको भाडादरभन्दा बढी लिन नपाइने, सबै यात्रुलाई टिकट दिनुपर्ने र सिट क्षमताभन्दा बढी यात्रु बोक्न नपाइने नियम पनि कडाइका साथ लागू गरिनेछ।

त्यसैगरी, सवारी साधन दर्ता भएको प्रयोजनअनुसार मात्र सञ्चालन गर्नुपर्ने र सार्वजनिक स्थानमा जथाभावी पार्किङ गर्न नपाइने सहमतिमा उल्लेख छ।

प्रशासन र व्यवसायीबीच भएको सहमतिले केही दिनदेखि अवरुद्ध यातायात सेवा सहज बनाउने अपेक्षा गरिएको छ भने यात्रुहरूलाई पनि व्यवस्थित र सुरक्षित सेवा प्रदान गर्ने लक्ष्य राखिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *