मुख्य समाचार

गण्डकीमा सहकारी घोटाप्रकरणमा , नौँ अर्ब हिनामिना, बचतकर्ताको रकम फिर्ता अनिश्चित !

काठमाडौं । गण्डकी प्रदेशका १९ ठूला सहकारीबाट ६ अर्ब ९७ करोड र अन्य सहकारीबाट २ अर्ब गरी कुल ९ अर्बभन्दा बढी रकम हिनामिना भएको तथ्य सार्वजनिक भएको छ। प्रदेश सहकारी रजिष्ट्रार कार्यालयले दोषी सहकारीको फाइल प्रहरीमा बुझाउँदै अनुसन्धान अघि बढाएको छ।

रजिष्ट्रार भेषराज रिजालका अनुसार सबैभन्दा बढी रकम हिनामिना भएको सहकारी पोखराको प्राइम हो, जहाँ मात्र १ अर्ब ५४ करोड रुपैयाँ हिनामिना भएको छ। त्यसपछि म्याग्दीको कुमारी सहकारीमा १ अर्ब ४९ करोड, पोखराको सूर्यदर्शन सहकारीमा १ अर्ब ५२ करोड हिनामिना भएको वित्तीय विश्लेषणले देखाएको छ।

सहकारीका सञ्चालकको दुरुपयोग र लगानी व्यवस्थापनको कमजोरीका कारण बचतकर्ताले आफ्नो रकम फिर्ता पाउने ग्यारेन्टी छैन। यसैगरी, कालिका सहकारी, बैशाली र नागढुंगा जस्ता सहकारीले आंशिक वा पूर्ण मिलापत्र गरेका छन्, तर धेरै सहकारीमा समस्या अझै कायम छ।

प्रदेशमा ८७८ सहकारीमध्ये ५९४ मात्रै सक्रिय छन् भने २८४ निष्क्रिय छन्। चालु आर्थिक वर्षमा २२ वटा सहकारी खारेज गरिएको छ। नियम विपरीत काम गर्ने ३२ सहकारीबाट २० लाखभन्दा बढी जरिवाना समेत असुलेको छ।

सहकारीमा नक्कली खाता खोल्ने, कार्यक्षेत्र बाहिर लगानी गर्ने र आन्तरिक नियन्त्रण कमजोर हुने प्रवृत्ति बढी देखिएको छ। सञ्चालकको बदमासीका कारण ऋणीहरूले ऋण तिर्न छोड्दा थप समस्या बढेको छ।

पीडित बचतकर्ता सङ्घर्ष समितिका संयोजक किरण श्रेष्ठका अनुसार धेरै बचतकर्ताले उपचार खर्च समेत जुटाउन नसकेर ज्यान गुमाएका छन्। केही सहकारीले रकम फिर्ता गर्ने ग्यारेन्टीपछि मिलापत्र गरेका छन्, तर अधिकांशमा अझै अनिश्चितता कायम छ।

गण्डकीमा कुल बचत ६१ अर्ब ७८ करोड र लगानी ६१ अर्ब ६५ करोड रहेको छ। अधिकांश लगानी कृषि, उद्योग वा घरजग्गामा भएको र व्यवस्थापन कमजोर भएको कारण धेरै सहकारी संकटमा परेको रजिष्ट्रार कार्यालयले जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *