मुख्य समाचार

हनी ट्र्याप’ प्रकरणमा तुल्सा अधिकारीसहित १० जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं । ललितपुर जिल्ला सरकारी वकिल कार्यालयले तुल्सा अधिकारीसहित १० जनाविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दा दर्ता गरेको छ। अभियोग पत्र अनुसार नवलपरासी बर्दघाटकी ३२ वर्षीया तुल्सा अधिकारीलेतुल्सा कलेक्सन’ मार्फत भारतीय नागरिक ४५ वर्षीय मुकेश धानुक, पोखराकी २८ वर्षीया नेलिका लामिछाने, तेह्रथुमकी दिलकुमारी लिम्बु, पाल्पाका प्रयास पोखरेल, सल्यानकी २२ वर्षीया सपना वली, बर्दघाटकी ३४ वर्षीया गंगा अधिकारी, पाल्पाका ५२ वर्षीय मेघनाथ बस्याल, सिरहाका ६४ वर्षीय अशोक कुमार अग्रवाल लगायत १० जनालाई आपराधिक लाभका लागि प्रयोग गरेकी रहेको देखिएको छ।

सरकारी वकिल कार्यालयले गरेको अभियोजनमा उल्लिखित छ कि तुल्साले विभिन्न समयमा चिमोरीयाबाट ४ करोड ५० लाख रुपैयाँ लिएको र आपराधिक लाभमार्फत कुल ६ करोड ५२ लाख २९ हजार रुपैयाँ आर्जन गरेको छ। उनी उक्त रकम बैंक तथा चेकमार्फत पारदर्शी बनाउन खोजेकी हुन्, तर कम्पनी घाटामा देखाइ कर छली गरेको अनुसन्धानमा खुलेको छ।

प्रहरी र सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धान अनुसार तुल्सा अधिकारीले ‘हनी ट्र्याप’ मार्फत ललितपुर सातदोबाटोस्थित हाम्रो अटोमोबाइल सञ्चालक कुमार चिमोरियाबाट रकम असुलेको पाइएको छ। उक्त रकम तुल्सा कलेक्सनको नाममा आपराधिक कारोबारका लागि ‘रकम पार्किङ’ गरिएको खुलेको छ।

तुल्सा सामाजिक सञ्जाल टिकटकमा सक्रिय रहेको र अफवाह फैलाएर आफूमाथिको मुद्दा कमजोर बनाउने प्रयास गरेको पनि अनुसन्धानमा देखिएको छ। गत भदौदेखि उनी चीनतिर भागेकी हुन्। मुद्दा दर्ता भएका सबै प्रतिवादी हाल फरार रहेका छन्। सरकारी वकिल कार्यालयले उनीहरूमाथि आवश्यक कानूनी प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *