देश

व्यापार मेलाबाट आत्मनिर्भर बन्न मद्दत पुग्छः उपराष्ट्रपति यादव

ललितपुर । उपराष्ट्रपति रामसहायप्रसाद यादवले महिला उद्यमी व्यापार मेलाबाट आत्मनिर्भर बन्न मद्दत पुग्ने बताएका छन् ।

महिला उद्यमीहरूको उत्पादनलाई बिक्री प्रवर्धन तथा बजारीकरणमा सहयोग पुर्‍याउने उद्देश्यका साथ महिला उद्यमी महासङ्घ नेपालद्वारा ललितपुरको झम्सिखेलमा आयोजित ९ औँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको उद्घाटन गर्दै उपराष्ट्रपति यादवले महिला उद्यमीहरू आत्मनिर्भर, समावेशी र दिगो समाज निर्माणतर्फको प्रेरक शक्ति भएको बताए ।

‘महिला उद्यमशीलताले व्यक्तिगत आर्थिक सशक्तिकरण मात्र नभई सामाजिक रूपान्तरण र राष्ट्रिय विकासको संवाहक भूमिका निर्वाह गर्छ, महिलाले उद्यममार्फत आफ्नो क्षमता प्रदर्शन गर्दा परिवार, समाज र राष्ट्रको समग्र विकासमा योगदान पुग्छ, महिला उद्यमीहरूको उत्पादनले आयात प्रतिस्थापन गर्नुका साथै निर्यातलाई प्रोत्साहन गर्दछ, यसबाट रोजगारी सिर्जना गर्ने, स्थानीय स्रोतसाधनको सदुपयोग गर्ने र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा टेवा पुग्छ’, उनले भने ।

उपराष्ट्रपति यादवले व्यापार मेलाबाट जिल्ला स्तरका महिला उद्यमीलाई प्रोत्साहन गर्न, उनीहरूको उत्पादनलाई बजारसम्म पुर्‍याउन र राष्ट्रिय अर्थतन्त्रलाई मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उद्यमशीलताले महिलालाई आर्थिक गतिविधिमा सहभागी गराउँदा समाजलाई समावेशी बनाउने उल्लेख गर्दै उनले स्थानीय स्रोत र सीपमा आधारित उत्पादनले वातावरणमैत्री तथा दिगो विकासलाई प्रोत्साहन गर्ने बताए ।

महासङ्घका अध्यक्ष दर्शना श्रेष्ठले मेलाले महिला उद्यमशीलताको राष्ट्रिय अभियानलाई सहयोग पुर्याउने जानकारी गराइन् । महिला उद्यमी महासङ्घमा हाल पाँच हजार ७०० भन्दा बढी महिला आबद्ध रहेका उनले जानकारी दिइन् । मेला तीन दिनसम्म चल्नेछ ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *