काठमाडौँ। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट १६ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँ नगरपालिका–२६ गोङ्गबु मित्रनगरबाट दुई जना, दाङको घोराही उपमहानगरपालिका–१३ राधाकृष्ण टोलबाट, एक लम्कीचुहा नगरपालिका–४ कौवापुरबाट एक, रुपन्देहीको रोहिणी–४ सेमरहबाट एक र सोही पालिकाको वडा नम्बर ६ छिपागणबाट एक जनालाई पक्राउ गरिएको हो ।
यसैगरी, बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहबाट एक, झापाको गौरादह नगरपालिका–१ डिपुचोकबाट एक, भद्रपुर नगरपालिका–५ मेचीपुलबाट तीन, मोचीनगर नगरपालिका–६ काँकडभिट्टा बसपार्कबाट एक र मोरङको उर्लाबारी नगरपालिका–७ बाट एक जनालाई पक्राउ गरिएको छ ।
प्रहरीचौकी मूलघाटबाट परिचालन भएको प्रहरी टोलीले ४४ किलो गाँजासहित धनकुटाको सहिदभूमि गाउँपालिकाबाट तीन जनालाई पक्राउ गरेको जनाइएको छ ।
केही अभियुक्तहरूबाट नगदसमेत बरामद भएको जनाइएको छ । उनीहरू बिहीबार पक्राउ परेका हुन् ।




