देश

पश्चिम एसियामा आजदेखि तीन दिन विशेष उडान

काठमाडौं । पश्चिम एसियामा जारी द्वन्द्वका कारण समस्यामा परेका नेपाली नागरिकको उद्धारका लागि नेपाल सरकारले आजदेखि तीन दिनसम्म विशेष उडान सञ्चालन गर्दैछ।

नेपाल वायुसेवा निगमले आज काठमाडौं–दुबई, भोलि दुबई–काठमाडौं र आइतबार काठमाडौं–दमाम तथा दमाम–काठमाडौं उडान भर्न लागेको छ। यी उडानहरूले ती क्षेत्रमा रहेका नेपाली नागरिकलाई स्वदेश फर्किन वा गन्तव्य मुलुकमा पुर्‍याउने काम गर्नेछन्।

चैत १७ गते परराष्ट्र मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण तथा नेपाल वायुसेवा निगमका उच्चपदस्थ अधिकारीबीच बैठक बसेको थियो। उक्त बैठकमा पश्चिम एसियामा रहेका नेपालीको उद्धार, आवागमन सहज बनाउने र आवश्यक हवाई सेवा सञ्चालन गर्ने विषयमा छलफल गरिएको थियो।

परराष्ट्रमन्त्री शिशिर खनालको निर्देशनअनुसार तीन दिनसम्म विशेष उडान सञ्चालन गर्न लागिएको हो। पश्चिम एसियामा विद्यमान तनावका कारण नियमित उडानहरू २८ फेब्रुअरीदेखि स्थगित भएका थिए।

नेपाल सरकारले उडान सञ्चालनमा सहयोग गर्ने सबै सरोकारवाला निकायको योगदान र समन्वयको लागि धन्यवाद व्यक्त गरेको छ। साथै, उडानका क्रममा आवश्यक बीमा व्यवस्था सहज बनाउन राष्ट्रिय बीमा कम्पनीले सहयोग गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *