देश

सरकारी कार्यालयमा बिचौलियारहित नागरिकमैत्री सेवा प्रवाह गरिने

काठमाडौँ।नेपाल प्रहरीले बिचौलियारहित, नागरिकमैत्री सेवा प्रवाहलाई प्रभावकारी बनाउने योजनासहित कार्य प्रारम्भ गरेको छ । यसका लागि प्रहरीले देशभर मातहतका निकायमा परिपत्र गरी कारबाही अघि बढाएको हो ।

प्रचलित कानुन कार्यान्वयनद्वारा विधिको शासन प्रत्याभूति गराउँदै जेनजी आन्दोलनको मर्म र नयाँ सरकार गठनपश्चात् मुलुकको प्रशासनिक, राजनीतिक र सेवा प्रवाहको क्षेत्रमा आमूल परिवर्तन गर्दै प्रहरीले आफ्नो भूमिका अघि बढाएको प्रहरीका केन्द्रीय प्रवक्ता अविनारायण काफ्लेले बताए ।

सुशासन, प्रशासनिक पुनर्संरचना र जनजीविकामा प्रत्यक्ष सुधार ल्याउने उद्देश्यका साथ सरकारबाट जारी भएको ‘शासकीय सुधार सम्बन्धी सरकारका १०० कार्यसूची’ को भावनाअनुरूप प्रहरीले आफ्नो जिम्मेवारी पूर्ण निष्ठाका साथ निर्वाह गर्दै आइरहेको उहाँले जानकारी दिए ।

प्रहरी प्रवक्ता काफ्लेले भन्नुभयो, “नेपाल प्रहरीको मुख्य उद्देश्य नै बिचौलियारहित नागरिकमैत्री, पारदर्शी एवम् छिटोछरितो सेवा प्रवाह गर्नु हो । प्रत्यक्ष सेवा प्रवाह हुने प्रहरी कार्यालय तथा अन्य कार्यालय वरपर रहेर छिटो र छरितो काम गरी दिने प्रभावमा पारी वा प्रलोभन देखाई आम नागरिकलाई दुःख, हैरानी दिने व्यक्ति तथा बिचौलियाहरू पहिचान र पक्राउ गरी कानुनबमोजिम कारबाही गर्न प्रहरी सक्रिय रूपमा परिचालित रहेको छ ।”

प्रहरी कार्यालयमा कुनै निवेदन, उजुरी दिन वा गुनासो गर्न आएको व्यक्ति आफैँ उजुरी लेख्न नसक्ने, पढ्न लेख्न नसक्ने अवस्थाको भएमा निजको नजिकको आफन्तलाई रोहवरमा राखी पीडितकै उपस्थितिमा प्रहरीले निवेदन, उजुरी लेख्न सहयोग गर्न सक्ने जनाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *