देश

खोला किनारमा फुलेका फूलले बढायो काठमाडौँको सौन्दर्य

काठमाडौँ । वसन्त ऋतुको आगमनसँगै काठमाडौँ उपत्यकाका विभिन्न खोला किनार अहिले फूलैफूलले ढकमक्क ढाकिएका छन् । विशेषगरी काठमाडौँ महानगरपालिकाको रातोपुलस्थित धोबिखोला किनारमा फुलेका रङ्गीचङ्गी फूलले त्यहाँको वातावरणलाई मनमोहक बनाउँदै स्थानीय तथा आगन्तुकको ध्यान खिचिरहेका छन् ।

केही वर्ष अघिसम्म दुर्गन्ध र फोहोरले परिचित धोबिखोला अहिले सफाइ र हरियालीका कारण नयाँ रूपमै देखिन थालेको छ । वसन्त ऋतुको आगमनसँगै यहाँ रोपिएका विभिन्न प्रजातिका फूल फुलेपछि खोला किनार रमणीय बगैँचाजस्तै देखिन थालेको छ । रातो, सेतो, पहेँलो, रानी र अन्य विविध रङ्गका फूलले यस क्षेत्रलाई थप आकर्षक बनाएका छन् ।

स्थानीयवासी जगदीश कुइकेलका अनुसार, “धोबिखोलामा फुलेका फूलले सबैलाई आकर्षित गरिरहेका छन् । पहिले दुर्गन्ध आउने ठाउँ अहिले सुगन्धित र रमाइलो बनेको छ । यहाँ हिँड्दा नै मन शान्त हुन्छ ।” अहिले दैनिक रूपमा यहाँ घुम्न आउने, फोटो खिच्ने र समय बिताउनेको सङ्ख्या बढ्दै गएको उनको भनाइ छ ।

अर्का स्थानीय कबिर श्रेष्ठले पनि विगतमा दुर्गन्धले यहाँको खोला छेउछाउमा हिँड्नै गाह्रो हुने गरेको भए पनि अहिले खोलाको सरसफाइ गर्न थालिएको र फूलको सुगन्धले वातावरण नै मनमोहक बनाएको बताएका छन् ।

उनले भने, “पहिले यहाँको अवस्था निकै दयनीय थियो । फोहोरको दुर्गन्धले खोलाको छेउमा हिँड्नै गाह्रो हुन्थ्यो । अहिले भने सफा गर्न थालिएको, हरियाली र फूलहरूको वास्नाले वातावरण पूर्ण रूपमा परिवर्तन भएको छ ।”

काठमाडौँ महानगरपालिकाले खोला सफाइ अभियानलाई तीव्रता दिँदै फोहोर फाल्नेलाई कारबाही गर्ने सूचना जारी गरेपछि स्थानीयस्तरमा पनि सचेतना बढेको र यसले खोला संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको स्थानीय बताउँछन् ।

अहिले धोबिखोला मात्र होइन, काठमाडौँ उपत्यकाका अन्य खोला किनार बागमती, विष्णुमती लगायत पनि क्रमशः सफा र हरियालीयुक्त बन्दै गइरहेका छन् । साँझपख विशेषगरी यहाँ मानिसको चहलपहल उल्लेख्य रूपमा बढ्ने गरेको छ । धोबिखोला किनारमा किराना पसल सञ्चालन गर्दै आएका व्यवसायी जनक लामाका अनुसार साँझको समयमा यहाँ मानिसहरू बस्न, घुम्न र फोटो खिच्न आउँछन् ।

यसले यहाँको व्यापारमा सकारात्मक प्रभाव पारेको छ । वातावरण संरक्षण, शहरी सौन्दर्य अभिवृद्धि तथा जनचेतनाको संयुक्त प्रयासले काठमाडौँका खोला किनार अहिले उदाहरणीय बन्दै गइरहेका छन् । यदि यस्तै प्रयासलाई निरन्तरता दिइयो भने आगामी दिनमा उपत्यकाका सबै खोला किनार पर्यटकीय आकर्षणको केन्द्र बन्न सक्ने सम्भावना देखिने स्थानीयको बुझाइ छ ।

यसरी, एक समय फोहोर र दुर्गन्धको पर्याय बनेका खोला किनार आज सुगन्धित फूलले सजिएका सुन्दर स्थलका रूपमा रूपान्तरण भइरहेका छन्, जसले काठमाडौँको समग्र सौन्दर्यमा नयाँ आयाम थपेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *