देश

संसदमा साम्पाङको जोरदार माग: एमसीसी खारेज, किसान केन्द्रित नीति र सुशासनको आह्वान

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभाको बैठकमा विकासका नाममा गरिएका असमान सन्धिहरू खारेज गर्नुपर्ने बताएका छन्। उनले विशेषगरी एमसीसी खारेज गर्न जोड दिएका हुन्।

बैठक समयमा नहुने विषयमा असन्तुष्टि जनाउँदै साम्पाङले तोकिएको समयभन्दा आजको बैठक १६ मिनेट ढिलो सुरु भएकोमा आपत्ति व्यक्त गरे। उनले अबदेखि बैठक समयमै सुरु हुनुपर्ने माग पनि राखेका छन्।

साम्पाङले विपक्षी सांसदहरुलाई जनताको मुद्दा उठाउन समय पाउनुपर्नेमा जोड दिँदै, विगतका घटनाहरूमा आधारित केही मागहरू राखेका छन्। उनले भदौ २३ गतेको आन्दोलनमा विद्यालयका बालबालिकालाई आन्दोलनमा लगाउने योजना र भदौ २४ को विध्वस्त घटनाको छानबिन आयोग गठन गर्नुपर्ने बताए।

पूर्व मन्त्री र सांसदहरूको मात्र होइन, हालका प्रधानमन्त्री, मन्त्री तथा सांसदहरूको सम्पत्ति पनि छानबिन गरेर सुशासनको सुरुवात गर्नुपर्ने उनको भनाइ थियो।

साम्पाङले किसानका समस्याको समाधान नगरेसम्म देशको आर्थिक वृद्धि नहुने भन्दै योजना बनाउँदा किसानलाई केन्द्रमा राख्न सरकारको ध्यानाकर्षण गराएका छन्। उनले संसदको पहिलो बैठकमै सरकारलाई विपक्षी दलहरूसँग छलफल गरेर योजना निर्माण गर्न सुझाव पनि दिएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *