देश

सदनलाई राष्ट्रपति कार्यालयको पत्रको जानकारी

काठमाडौं ।  प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त प्रधानमन्त्री पदको नियुक्ति र मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरूको व्यहोरा जानकारी गराइएको छ ।

बैठकको अध्यक्षता गरेका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ (१) बमोजिम प्रतिनिधिसभा सदस्य वालेन्द्र शाहलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गरेको व्यहोरा जानकारी गराएका हुन् ।

उनले प्रधानमन्त्री शाहको नेतृत्वमा गठित १५ सदस्यीय मन्त्रिपरिषद् र कार्यविभाजनसम्बन्धी व्यहोरासमेत सदनलाई जानकारी गराए । यसअघि ज्येष्ठ सदस्य केसीले राष्ट्रपति कार्यालयबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको बेहोरा सदनलाई जानकारी दिएका थिए ।

बैठकले नेपालको संविधानको धारा १०४ बमोजिम प्रतिनिधिसभाबाट सभाले आफ्नो नियमावली नबनाएसम्मको लागि प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम कामकारबाही गर्नेसम्बन्धी प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

बैठकमा ज्येष्ठ सदस्य केसीले सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सांसदहरू आरेन राई, गंगा छन्त्याल, तारिह अलि भाट, वासना थापा, विश्वराज पोखरेल, यज्ञबहादुर बोगटी र बलावती शर्मालाई मनोनयन गरिएको जानकारी पनि दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *